काठमाडौं । ६ जनाको ज्यान जानेगरी भएको रुकुमको चौरजारी घटनाका अभियुक्त विरुद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएपछि सोमबार थुनछेक आदेश शुरु भएको छ । सो घटनामा ३४ जना आरोपित छन् । सरकारी बकिलको कार्यालयले ३२ जनालाई आजन्म कैद सजाय र क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ भने दुई आरोपी नाबालक भएकाले उनीहरुको हकमा भने कम सजाय माग गरिएको छ ।
घटनामा परी नवराज विक, टिकाराम नेपाली, गणेश बुढामगर, लोकेन्द्र सुनार, सजिव विक र गोविन्द शाहीको ज्यान गएको थियो । प्रहरी अनुसन्धानमा ६ जनाले ज्यान जाने गरी भएको सो घटनाको अन्तरजातिय प्रेम देखिएको छ । अभियोग पत्रमा मृतक सबैको लासजाँच मुचुल्का र पोस्टमार्टम रिपोर्टको निष्कर्ष समेत उल्लेख छ । अभियोगपत्रमा उल्लेख भएको दुवै रिपोर्ट अनुसार मृतक सबैको शरिरमा गम्भीर चोट छन् । मृत्युको कारण भने पानीमा डुबेकाले उल्लेख छ ।
प्रेमिका लिन गएका नवराज विकको लाशजाँच मुचुल्का र पोस्टमार्टम रिपोर्ट अनुसार उनको निधारमा १३×५ सेमीको निलडाम, बाँयातर्फ निधारमा १.५ सेमी खोस्रिएको दाग, टाउँकोमा २×०.५ सेमी काटिएको घाउ पाइएको थियो । त्यस्तै बाँया आँखीभौंमा १.५ सेमी. काटिएको घाउ, नाकमा बाहिरी निलडाम रहेको, नाकमा बालुवा रहेको, कानमा बालुवा रहेको, निधार कोतरिएको र सुन्निएको पाइएको उल्लेख छ । चोटको प्रकृति जोडले हिर्काएको देखिएको अभियोगपत्रमा उल्लेख छ ।
अन्तिममा लास भेटिएका मृतक गोविन्द शाहीको लास पूरै सुन्निएको, शरीरमा रहेका लुगाहरु खोल्न नसकिने भएको रिर्पोटमा उल्लेख छ । पत्तीको सहायताले उक्त लुगाहरु काटी शरीरबाट हटाउँदै खोली लाशलाई ओल्टाई पल्टाई गरी हेर्दा मृतक लाशको शरीर पुरै सुन्निएको र कडा दुर्गन्ध आईरहेको लाशजाँच मुचुल्कामा उल्लेख छ । पुरै शरीर सडीगलेको, सुन्निएको, मलद्धारबाट दिशा जस्तो पदार्थ निस्केको, छाला खुईलिएको प्रतिवेदनमा उल्लेख छ । पक्राउ आरोपी, घाइते र प्रत्यक्षदर्शीको बयानसँगै लाशजाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनमा ब्लन्ट फोर्स समेत प्रयोग भएको कारणबाट घाउँचोट लागेको तथ्य स्थापित भएको र उनीहरुको मृत्यु प्रतिवादीहरुले वारदात मितिमा प्रहार गरेका चोट समेतबाट भएको अभियोगपत्रमा उल्लेख छ।
मृतकको शरीरमा देखिएको घाउ चोटहरुको परीक्षणमा मृतक लोकेन्द्र सुनारको टाउको, दायाँ र बाँयाँ खुट्टामा ब्लन्ट फोर्स प्रयोग भएको उल्लेख छ । तर उनको रिपोर्टमा संभवत डुबेर मरेको हुन सक्ने लेखिएको छ । निज मृतक लोकेन्द्र सुनारको लास जाँच मुचुल्कामा निधारमा २ह२ सेमिखोस्रिएको, दाहिने आँखीभौंको छेउमा १×०.२ सेमी काटिएको, मलद्वारबाट दिसा निस्किएको भन्ने समेत व्यहोरा उल्लेख भएको देखिन्छ ।
मृतक गणेश बुढा मगरको शव परीक्षण प्रतिवेदनमा निज मृतक गणेश बुढा मगरको लास जाँच मुचुल्कामा नाक कोतरिएको निधारको भागमा निलडाम रहेको थिचिएको भन्ने समेत व्यहोरा उल्लेख भएको देखिन्छ । मृतक गोविन्द शाहीको शव परीक्षण प्रतिवेदनअनुसार अनुहार निलोरातो सुन्निएको, नाक खुम्चिएको जस्तो सुन्निएको, कानमा रगत जस्तो र बालुवा भरीएको सुन्निई निलो रातो, अघिल्तिरको तलको एक र माथिको एक दाँत दवेको समेत उल्लेख छ ।
सत्यपाटी ।