काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८, सोतीगाउँमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा गाउँलेहरुको घेराबन्दीबाट भेरी नदीमा खसेकामाथि ढुंगा प्रहार हुँदा ६ जनाको ज्यान गएको निष्कर्ष निकालिएको छ । ठूलो संख्याका गाउँलेहरुले घेरा हाल्दै ढुंगामूढा गरी लखेट्दा शरीर र टाउकोमा लागी भेरी नदीमा खस्दा रुकुमको चौरजहारीमा ६ जनाको ज्यान गएको गृहमन्त्रालयबाट गठित अनुसन्धान समितिले निष्कर्ष निकालेको हो ।
गृहमन्त्रालयबाट अनुसन्धानका लागि गएको सहसचिव जितेन्द्र बस्नेत संयोजक रहेको समिति अनुसन्धान सकेर काठमाडौ आएपछि गृहमन्त्री रामबहादुर थापा समक्ष गाउँलेहरुले लखेट्दा उनीहरुलाई ढुंगाले चोट लागेको र चोटलागेका व्यक्तिहरु भेरी नदीमा पसेपछि गाउँलेहरुले उनीहरुलाई नै लक्षित गरी थप ढुंगा हान्दा लागेर मृत्यु भएको रिपोर्टिङ गरेका हुन् । आइतबार सो घट्नामा संलग्न ३४ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।
समितिमा सहसचिव बस्नेत, एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धानका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिवद्वय बशिष्ट घिमिरे र माधव ढकाल छन् । शुरुमा २५ देखि ४५ मिटरसम्मको दुरीमा केटी पक्ष र केटाहरुको ग्याप रहेको, केटी पक्षकाले ढुंगा मुढा हानेको, यसरी ढुंगा हान्दा उनीहरुलाई लागेको र घाईते अवस्थामै भेरीमा हाम्फाल्दा गाउँलेहरुले उनीहरुमाथि थप ढुंगा बर्षाएका कारण उनीहरुको मृत्यु भएको समितिको निष्कर्ष रहेको सो समितिका एक सदस्यले जानकारी दिए ।
उनीहरु अहिले काठमाडौं आइसकेको र अनुसन्धान प्रतिवेदन तयार पारिरहेका छन् । ‘तीन तिर छेकेको देखिन्छ । भाग्दै गर्दा उनीहरु एउटा भंगालोमा अडेको र त्यहाँ घाईते भएको तथा त्यहाँबाट उम्केर भेरी नदीमा हाम फालेको देखिन्छ । त्यहाँ केटीको दाई र अन्य गाउँलेहरु मिलेर ढुंगा हान्दा उनीहरु घाइते भई पौडिन नसक्दा मृत्यु भएको हुनुपर्छ,’ समिति स्रोतले भन्यो । स्रोतका अनुसार पौडिन नजान्ने एकजना सन्जु विकबाहेक अन्य सबै पौडेर वारिपारि गर्ने युवाहरु थिए ।
नवराज विक लगायतका अन्य युवाहरु दुई तिर बाँडिएर भागेको पनि समितिले जनाएको छ । ‘नवराज विक लगायतको एउटा समूहलाई भने केटीको दाजु लगायतका गाउँलहरुले लखेटेको देखिन्छ’, समिति स्रोतले भन्यो । उनीहरु नदीमा हाम्फालेपछि पनि गाउँलेहरुले ढुंगा हानिरहेका थिए । ‘गाउँलेहरुले प्रहार गरेको ढुंगा लागेर नवराज लगायतका युवाहरु पौडिन नसकेका देखिन्छ नत्र उनीहरुले सधैंजसो भेरी नदी पौडेर नै तर्ने गरेको हामीलाई प्राप्त भएको जानकारीमा उल्लेख छ,’ समिति स्रोतले भन्यो ।
सो घट्नाको अनुसन्धानका लागि नेपाल प्रहरीले एसएसपी पोषराज पोखरेल संयोजक रहेको अनुसन्धान समिति बनाएको छ भने केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पनि अनुसन्धान गरिरहेको छ । त्यसैगरी सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा पनि संसदीय समिति गठन भएको छ । केटी भगाउन भनेर १० जेठमा जाजरकोटबाट गएका नवराजसहितका १९ जनामाथि सोतीका स्थानीयले आक्रमण गरेका थिए । लकडाउनको बेला उनीहरु गाउँमा आएको भन्दै गाउँलेहरुले लखेटेको बताइएपनि नवराज विक लगायतका युवाहरु केटी भगाउन त्यहाँ पुगेका थिए ।
नवराजसहित टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार तथा सञ्जु विक, भेरी नगरपालिका–११ का गोविन्द शाहीको हत्या भएको थियो । उनीहरुको पोष्टमार्टम रिपोर्टमा समेत शरीरभर निलडाम देखिएको थियो । जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीचको प्रेम सम्बन्धका विषयले रुकुममा ६ जनाको ज्यान गएको थियो ।
सत्यपाटी ।