सूचनाको शक्ति - The Power Of Information

        

नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न प्रशासनको सक्रियता, तस्करहरुको भागाभाग

केही दिनअघि राप्ती नदीबाट ढुङ्गा, गिट्टी तस्करी गर्दै गर्दा पक्राउ परेका ट्याक्टर ।

बाँके । कोभिड–१९ नियन्त्रणका लागि देश तीन महीनादेखि बन्दाबन्दीमा छ । यतिबेला अधिकांश क्षेत्र ठप्प छन् । यहिबेला बाँकेमा अवैधरुपमा खोलानाला तथा नदी दोहन भने निर्वाधरुपले चलिरहेको छ । नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्न स्थानीय प्रशासनले सक्रियता देखाएसँगै नदीजन्य पदार्थ बोकेका टिपर तथा ट्याक्टरहरु धमाधन पक्राउ पर्न थालेका छन् ।

प्रहरीको सेटिङमै अवैध उत्खनन् भइरहेको भन्दै त्यसलाई रोक्न चर्को आवाज उठेपछि बाँके प्रशासनले प्रहरी र अवैध नदीजन्य पदार्थ दोहन गरिरहेका तस्करहरुबीचको साँठगाँठ भत्काएको छ । प्रहरीकै संरक्षणमा सबैभन्दा बढी राप्तीसोनारीमा गाउँपालिकामा पर्ने खोलानाला तथा राप्ती नदीमा नदीजन्य पदार्थको अवैध उत्खनन् हुँदै आएको थियो । अवैध उत्खखन्मा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

यसअघि शनिबार राती राप्ती नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ बोकेर ल्याउँदै गरेका तीन वटा ट्याक्टरसहित ६ जनालाई नियन्त्रणमा लिएको बाँके प्रशासनले सोमबार विहान साढे २ बजे नौं वटा ट्याक्टरसहित १३ जना मानिसलाई नियन्त्रणमा लिएको बाँकेका प्रमूख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए । अवैधरुपमा चोरी निकासी गरेर ल्याउँदै गरेको बालुवा, ग्रावेलसहित नियन्त्रणमा लिएको हो ।

नेपालगन्जतर्फ आउँदै गरेका भे १ त ९२३७, भे १ त ८३६२, भे २ त १२३, भे १ त ५९२६, भे १ त ६९६४, भे १ त ४२४६,भे १ त ७१४९,भे.१त ५२६२ र एउटामा नम्बर नभएको ९ वटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका व्यक्तिहरुलाई अभद्र व्यवहार कसुरमा कारबाही अघि बढाएको छ भने ट्रयाक्टर र नदीजन्य पदार्थसहित कारबाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

खासगरी इलाका प्रहरी कार्यालय कोहलपुर र कम्दी मातहत पर्ने क्षेत्रमा प्रहरीकै संरक्षण र मिलेमतोमा अवैधरुपमा खोलानाला तथा नदी दोहन तीव्ररुपमा हुँदै आएको थियो । प्रहरी ती क्षेत्रबाट रातको समयमा टिपर तथा ट्याक्टरहरु ओहोरदोहोर गर्ने भए पनि प्रहरीले चासो नदेखाएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले विशेष चासो र सक्रियता देखाएपछि तस्करहरुको भागाभाग हुन थालेको छ ।

राप्तीसोनारी गाउँपालिकाको वडा नं. २ मा पर्ने खैरी, परुवा, झिझरी र मुगुवा खोला, वडा नं. ६ को ढलैया, जललाघाट, वडा नं. ५ को आलिनगर, वडा नंं ८ को सम्शेरगन्ज तथा डुडुवा गाउँपालिका–५ को कम्दीस्थित राप्ती नदीको खजुरिया, बैजनाथ गाउँपालिकाको मानखोला क्षेत्रबाट नदीजन्य पदार्थको अवैध दोहन भइरहेको छ । केही क्षेत्रमा रातभर उत्खनन्को काम हुन्छ भने केही स्थानहरुमा दिनभर पनि निर्वाधरुपमा उत्खनन्को काम चलिरहेको छ ।

दिनरात जेसिबीले टिपरमा गिट्टी, बालुवा भरिरहेका हुन्छन् । दर्जनौंं टिपर र ट्याक्टरले ओसारिरहेका हुन्छन् । स्थानीय प्रशासनको पहुँच भएका स्थानमा राती काम हुन्छ भने पहुँच नभएका स्थानमा दिनरात अवैध उत्खनन्को काम हुन्छ । अवैध उत्खनन्ले राप्ती नदी र खोला किनारका बस्तीमा वर्षायाममा बाढी र डुबानको खतरा बढेको छ । जथाभावी दोहन हुँदा राप्ती नदी र खोला किनारका बासिन्दालाई वर्षायाममा बाढीको चिन्ता सुरु भइसकेको छ ।

सुपारी बरामद

अवैधरुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको सुपारी प्रहरीले बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–२३ जंगली सिंहपूर्वाबाट भारततर्फ लैजाने क्रममा ५० किलोग्राम सुपारी बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोली पुगेअगावै तस्करीमा संलग्न व्यक्तिहरु भागेको र सुपारीमात्रै बरामद भएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार ११:०४