बाँके । कोरोना भाइरस संक्रमणका कारण देश बन्दाबन्दी छ । यो महामारीको संकटमा आफ्नो ज्यान जोखिममा राखेर काम गर्दै आएका कर्मचारीहरुले खाइपाइ आएको तलब नपाउँदा अवस्था कस्तो हुन्छ होला ? संकटमा जोखिम मोलेर काम गर्ने कर्मचारीहरुको तलब काटेर आफू सेलिब्रिटी बन्न खोजेपछि नेपालगन्ज मेडिकल कलेजका सह–निर्देशक डाक्टर नितेश कनोडियाको यतिबेला चर्को आलोचना भइरहेको छ ।
सह–निर्देशक कनोडियाले कोरोनाबाट मृत्यु भएका नरैनापुर गाउँपालिकाका युवकको घर बनाइदिन एक लाख रुपैयाँ सहयोग गरे । कोरोनाको हटस्पट नरैनापुरमा नेपालगन्ज मेडिकल कलेजका सह–निर्देशक डाक्टर कनोडिया स्वयम पुगेर ४३९ परिवारलाई राहात स्वरुप विभिन्न खाद्यान्न सामाग्री प्रदान गरे । तर, मेडिकल कलेजले घर बनाइदिने भएपछि सोही मेडिकल कलेजमा कार्यरत कर्मचारीहरू तलब नपाएर भोकभोकै बस्नुपरेको छ ।
मेडिकल कलेजमा कार्यरत कर्मचारीको तलब समयमै प्रदान गर्नु त परको कुरा उनले कोरोनाको महामारीका बेला आफू सेलिब्रटी बन्नकै लागि कर्मचारीहरुले यसअघि खाइपाइ आएको तलबभत्ता समेत कटौती गरेर सामाजिक कार्यमा लगाइरहेका छन् । आफ्नै कर्मचारीको रकममा रजाई गर्ने मेडिकल कलेजका सह–निर्देशक कनोडियाको गैरजिम्मेवारीका कारण अस्पतालमा कार्यरत सयौं कर्मचारीले सास्ती भोग्नुपरेको छ ।
आफ्नै कर्मचारीको श्रमशोषण गर्ने कनोडियाको यतिबेला चर्को आलोचना भइरहेको छ । ‘घर बनाइदिनु सह्रानीय काम हो तर, आफ्नै घरको परिवार भोकै हुँदा पहिलो प्राथमिकता दिँदा राम्रो हुन्थ्यो,’ नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भने, ‘हामीले दुई महिनादेखि तलब पाएका छैनौ । अनि मेडिकल कलेजले घर बनाउन पैसा बाँड्दै हिँडेको छ । यो हामीमाथि अन्याय हो । डाक्टर साबले सामाजिक कार्य गर्न पाउनुपर्छ तर, कर्मचारीको तलबबाट होइन ।’
यसअघि अस्पतालका कर्मचारीले १३ महिनाको तलब पाउने गरेको मेडिकल कलेजका कर्मचारी बताउँछन् । अस्पतालका अर्का कर्मचारीले भने, ‘आन्तरिकरुपमा एक महिनाको तलब नदिनु भनेर उर्दी जारी भएको छ । अब कर्मचारी सबैले १२ महिनाको मात्र तलब पाउँछन् । महिनादिन वित्दा पनि समयमै तलब पाइदैन अब त तलब घटेर आयो ।’ त्यसो त मेडिकल कलेजमा काम गर्ने चिकित्सहरूले समेत लामो समयदेखि तलब भुक्तानी नपाएको गुनसो छ ।
‘कि त कनोडियाले आफ्नो गोजीबाट रकम खर्च गरि राहत वितरण गर्नुपर्यो, मेडिकल कलेजको नाम राख्नुभएन,’ मेडिकल कलेजमा कार्यरत एक कर्मचारीले भने, ‘होइन भने हामीलाई भोकै राखेर मेडिकल कलेजको तर्फबाट राहत बाँड्न पाइँदैन । विदा नबस्दा पनि विदा बसालिन्छ, विदा बसेको दिनको तलबभत्ता काटिन्छ । यो कस्तो नियम हो ।’ अझ कोरोना विशेष कार्यक्रममा खटिने साना कर्मचारीको तलब भत्ता आफूखुसी कटौती गरिरहेको छ ।
अझ पछिल्लो समय नेपालगन्ज मेडिकल कलेजले मोटो रकम असुल्ने बहानामा स्वास्थ्यसँग खेलवाड गरिरहेको तथ्य बाहिरिएको छ । कोरोना भाइरसको महामारीका बेला उपचारका लागि आउने बिरामीहरुको कोरोन जाँच नगरी भर्ना लिँदा आफुहरु असुरक्षित भएको कर्मचारीको गुनासो छ । बाहिर समाजसेवा गर्दै हिँड्ने मेडिकल कलेज र अस्पतालका सह–निर्देशकले भने आफ्नै संस्थाभित्रका कमीकमजोरी हटाउन नसकेको स्वयं कर्मचारीहरुको भनाई छ ।
एकातिर समाज सेवा गरेर चर्चा कमाउन तल्लिन देखिएका कनोडिया आफ्नै धरातल बिर्सेर कर्मचारीलाई भोकै राख्दै आएको अस्पतालमा कार्यरत कर्मचारी तथा डाक्टरहरुको गुनासो छ । आफ्नै कर्मचारीको तलब काटेर पेटमा लात हान्दै सेलिब्रिटी बनेर चर्चा कमाउनमै कनोडिया मस्त रहेको कार्यरत कर्मचारी तथा डाक्टरहरुले बताए । यस विषयमा सह–निर्देशक कनोडियासँग बुझ्न खोज्दा उनीलाई पटकपटक सम्पर्क गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।
सत्यपाटी ।