सूचनाको शक्ति - The Power Of Information

        

बिरामीमा कोरोना : मेडिकल कलेज कोहलपुरका कर्मचारी क्वारेन्टिनमा

बाँके । नेपालगन्ज मेडिकल कलेज कोहलपुरका ४२ जना कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ । जेठ २२ गते कलेजमा भर्ना भएका रुकुमका एक जना पेट सम्बन्धी विरामीको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कका आएका डाक्टर, नर्स र सहयोगी कर्मचारी गरी ४२ जनालाई क्वारेन्टिनमा राखिएको हो ।

मेडिकल कर्मचारी संघका अध्यक्ष यमबहादुर खड्काका अनुसार सम्पर्कमा आएकाहरुमध्यै ८ जना डाक्टर, ४/५ जना सहयोगी कर्मचारी र अन्य नर्स समेत गरी आइतबारदेखि ४२ जनालाई क्वारेन्टिनमा राखिएको छ । शनिबार मात्रै रुकुमका ती विरामीको आन्द्राको अप्रेसन भएको थियो । उनको रिपोर्ट पोजेटिभ आएपछि अप्रेसनमा संलग्न डाक्टर, नर्स लगायत कर्मचारीलाई क्वारेन्टिनमा राखिएको अध्यक्ष खड्काले बताए ।

अस्पतालका अनुसार ८ जना डाक्टरलाई मेडिकल कलेज चिसापानी, नर्स र अन्य सहयोगी कर्मचारीलाई कोहलपुर मेडिकल कलेजको क्वारेन्टिनमा राखिएको छ । उनले विरामीको सेवाका लागि गएका डाक्टर, नर्स लगायत सबैलाई क्वारेन्टिनमा राख्ने मेडिकल कलेजको व्यवस्थापन समितिले निर्णय भएको संघका अध्यक्ष खड्काले बताए ।

साथै ती विरामीलाई राखिएको कलेजको सर्जरी वार्ड आइतबारदेखि सिल गरिएको छ । तर ओपिडी र रेडियोलोजी सेवा पनि सूचारु नै रहेको छ । एक हप्ता अगाडि पनि अछामकी एक जना सुत्केरीमा कोरोना संक्रमण फेला परेपछि मेडिकल कलेज एक दिन सिल गरिएको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतवार १७:३७