सूचनाको शक्ति - The Power Of Information

        

एउटै वडामा १४० क्विन्टल लसुन उत्पादन

रुकुम(पश्चिम) । रुकुम(पश्चिम)को मुसीकोट नगरपालिका–१० का किसानले करिव १४० क्विन्टल लसुन उत्पादन गरेका छन् । वडाका झ्याङ, चौर, गलमपाटी, चुनलगायतका गाउँमा लसुनखेती गर्ने गरिन्छ । उत्पादित लसुन जिल्ला बाहिर निर्यात भएको छ । वडा सदस्य धनबहादुर खड्काले १०६ क्विन्टल लसुन जिल्ला बाहिर निर्यात हुँदा रु १३ लाख भित्रिएको जानकारी दिए ।

यसबाट किसानले रु.२०/२५ हजारदेखि सवा लाख बढीसम्म आम्दानी गरेका छन् । वडा कार्यालयको पहलमा तीन लाख ५० हजार मूल्य बराबरको ३४ क्विन्टल लसुन बीउका लागि गाउँमै राखिएको छ । यो वर्ष किसानले लसुनमा प्रतिकिलो रु १०० पाएका छन् । गत वर्ष प्रतिकिलो रु ८० मा लसुन बिक्री गरेका थिए । उत्पादित लसुनले बजार पाएपछि किसान हर्षित भएका छन् ।

दाङका व्यापारीले गाउँमै आएर लसुन खरिद गरेर लगेको किसानले बताएका छन् । दुई वर्ष अगाडिसम्म लसुनले बजार नपाएर चिन्तित बनेका किसानहरु गत वर्षदेखि भने वडा कार्यालयको पहलमा बजार पाएपछि लसुनखेतीमा आकर्षित भएका छन् । वडाका धेरै ठाउँमा लसुनखेती हुन थालेको किसान झुपलाल खड्काले जानकारी दिए ।

‘उत्पादित लसुनले बजार पाउन थालेपछि वडाका धेरै ठाउँमा लसुनखेती हुने गरेको छ,’ उनले भने, ‘गाउँबाटै व्यापारीले लसुन उठाउने गरेका छन्, सजिलै बिक्री हुन थालेपछि लसुन उत्पादनमा धेरैको आकर्षण बढेको छ ।’ उनले रु एक लाख २३ हजार मूल्यको लसुन बिक्री गरेको जानकारी दिए ।

यसैबीच वडा कार्यालयले नै किसानका लागि बीउको व्यवस्था गर्ने गरेको छ । यसका लागि दुई हजार २०० किलो लसुनको बीउ वितरण गरेको वडा कार्यालयले जनाएको छ । यसका साथै बजारीकरणमा पनि ध्यान दिएको वडाको भनाइ छ । स्थानीयसहित जिल्ला बाहिरका व्यापारीलाई गाउँमा ल्याउने काम वडाले गरिरहेको वडाध्यक्ष गोप्यश्वर केसीले बताए । रासस

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतवार १२:३०