सूचनाको शक्ति - The Power Of Information

        

परीक्षणको दायरा बढाउन २५ थान पिसिआर मेसिन ल्याइँदै

काठमाडौं । दैनिक १२ हजार बराबरको पिसिआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पिसिआर मेसिन आयात गर्ने तयारी थालेको छ।

पिसिआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पिसिआर मेसिन र १० थान पोर्टेवल पिसिआर मेसिन आयात गर्न लागेको हो । चीनबाट ती सामान आयात गर्न लागिएको र सात दिनभित्रै काठमाडौँ आइपुग्ने विद म्यानेजमेन्टका प्रमुख विके भण्डारीले जानकारी दिए । उक्त मेसिनले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्ने र एक घण्टाभित्रै रिपोर्ट दिन सक्नेछ।

झण्डै रु ३० करोड बराबरको मेडिकल सामग्री आयात गर्न लागिएको जानकारी दिँदै प्रमुख भण्डारीले एक लाख थान आरएनए किट, एक लाख थान पिसिआर किट र तीन लाख थान भिटिएमसमेत आयात गर्न लागिएको बताए । भिटिएमको अभावमा स्वाब सङ्कलन गर्नसमेत समस्या भएको पाइएपछि छोटो प्रक्रियामार्फत सामान आयात गर्न लागिएको हो ।

यस्तै सो कम्पनीले नौ थान अटोेमेटिक आरएनए मेसिन तथा दुई लाख थान आरटिडी किटसमेत ल्याउने तयारी गरेको छ । पिसिआर किटको अभावमा केही स्थानमा स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको र केही स्थानमा सङ्कलन भएको स्वाबसमेत परीक्षणमा लामो समय लागेको छ । पिसिआर परीक्षणको दायरा बढाउनका लागि ती मेडिकल सामग्री आयात गर्न लागिएको बताइएको छ । ती सबै सामग्री आयात भएपछि दैनिक १२ हजार जनाको स्वाब परीक्षण गर्न सकिने र कोरोना नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ। सरकारले समेत पिसिआर परीक्षणको दायरा बढाउने तयारी थालेको छ ।

सरकारले आगामी असार १५ गतेदेखि दैनिक १५ हजार जनाको पिसिआर परीक्षण गर्ने तयारी गरेको सङ्घीय संसद्मा समेत यसअघि नै जानकारी गराइसकिएको छ। लकडाउनलाई क्रमशः खुकुलो बनाउने र परीक्षणको दायरा समेत बढाउने तयारीका बीच निजी क्षेत्रले समेत त्यसमा आडभरोसा प्रदान गर्न लागेको हो । ती सामानको आयातपछि देशभर क्वारेन्टिनमा रहेकाको परीक्षणमा समेत थप सहज हुने जनाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म एक लाख २१ हजार ८६२ जनाको पिसिआर परीक्षण भएको छ भने आरटिडी परीक्षण एक लाख ८८ हजारको भएको छ । देशभर एक लाख ५८ हजार ५० जना क्वारेन्टिनमा रहेका छन् । यसअघि पनि विद म्यानेजमेन्टले दुईपटक गरी पाँच लाख थान आरटिडी, मास्क तथा अन्य मेडिकल सामग्री आयात गरेको थियो । रासस

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार १८:३१