सूचनाको शक्ति - The Power Of Information

        

संविधान संसोधन विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाण्डौ । संविधानको निसान छापमा रहेको नक्सा संशोधनका लागि सरकारले दर्ता गराएको संविधानको दोस्रो संसोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । संशोधनको पक्षमा कुल २५८ मत परेको छ भने विपक्षमा शून्य मत परेपछि सभामुख अग्निप्रसाद सापकोटाले विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका छन् ।

प्रतिनिधिसभाले संविधानको अनुसूची ३ को व्यवस्था संशोधनका लागि प्रतिनिधि सभामा पेश गरेको थियो । सरकारले प्रस्तुत गरेको संशोधनमा शनिबार छलफल गर्दै पारित गरेको हो । संशोधनको विपक्षमा एकमत पनि नपर्दै सो प्रस्ताव पारित भएको हो । सबै दलका उपस्थित सांसदहरु संशोधन प्रस्तावको छलफलमा सहभागी भएका थिए । तर सरिता गिरी भने छलफलमा सहभागी भइनन् ।

छलफलपछि कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले छलफलमा उठेका प्रश्नमा जवाफ दिएकी थिइन् । उनको जवाफपछि सभामुख अग्नि सापकोटाले संविधान संशोधनको प्रस्तावलाई अङ्ग बनाउने प्रक्रिया पूरा गरेका थिए। प्रक्रियामा सबैको सहमतिपछि पुनः कानुनमन्त्रीलाई सभामुखले पारित गरियोस् भन्ने प्रस्ताव राख्ने अनुमति दिएका थिए ।

उनको अनुमतिपछि सभामुखले मत विभाजन प्रक्रिया शुरु गरेका थिए । उनले विभाजन घन्टी बजाउँदै हस्ताक्षरका लागि तयार रहन भनेका थिए। सचिवालयका कर्मचारी यसअघि नै हस्ताक्षर संकलनका लागि तयारी अवस्थामा रहेका थिए। सभाकक्षका सबै ढोका बन्द गरेपछि मत संकलन गरिएको थियो ।

प्रस्ताव राष्ट्रियसभाबाट समेत स्वीकृत भएर राष्ट्रपतिले प्रमाणित गरी राजपत्रमा प्रकाशित भएपछि संविधान संशोधनको प्रक्रिया पूरा हुने छ भने नेपालको नयाँ नक्साले ‍औपचारिक रूपमा नै मान्यता समेत पाउनेछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार १८:२३