सूचनाको शक्ति - The Power Of Information

        

कोरोनामा रोजगारी : जाजरकोटका जनता बाटो बनाउँदै पैसा बुझ्दै

जाजरकोट । कोरोनाबाट जनतामा परेको समस्या समाधान गर्न जुनिचाँदे गाउँपालिकाले काम गरेर जीविकोपार्जन गर्न विभिन्न योजना बनाएर रोजगारी दिएको छ । समय अपुग भएकैले ठूला आयोजना निर्माण गर्न मुस्किल पर्ने भएपछि गाउँपालिकाले १४ साना योजना बनाएर स्थानीयवासीलाई काम दिइ रोजगारी उपलब्ध गराएको हो ।

गाउँपालिकाको वडा नं १ देखि ६ सम्म स्थानीयवासीले काम गर्ने गरी छनोट भएका योजनामा काम शुरु भएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । काम गरेवापत दैनिक गाउँपालिकाले ५ सय रूपैयाँ दिने गरेको छ । गाउँपालिकाको वडा नं १ बडकुलेमा तैयाबाट एक्लेसल्लाहसम्मको घोडेटो बाटो निर्माण जारी छ ।

सो बाटोमा दुई लाख ४३ हजार रूपैयाँ विनियोजन भई ६८ जनाले काम गरिरहेका छन् । वडा नं १ मै चाँखाबाट चिसापानीसम्मको घोडेटो बाटो निर्माणका लागि एक लाख ९६ हजार रूपैयाँ बराबरको रोजगारी ५५ जनाले पाएका छन् । बिराखोलाबाट भगवती प्रावि घोडेटो बाटो निर्माणका लागि दुई लाख १४ हजार ५०० रूपैयाँ रकममा ६० युवाले रोजगारी पाएका छन् ।

वडा नं २ को आलिचौर ओडारबाट जर्पासम्मको घोडेटो बाटो निर्माणमा दुई लाख ७५ हजार रूपैयाँमा ५८ जनाले काम गरिरहेका छन् । वडा नं २ कै जन्तरेबाट मौगानसम्म घोडेटो बाटो बनाउन एक लाख ५० हजार रूपैयाँ रकम विनियोजन भई ४२ युवायुवती काममा खटिएका छन् । वडा नं २ कै भैरव माविबाट फावरवयाँसम्मको रु एक लाख ४६ हजार ५ सयमा घोडेटो बाटो बनाउन ४१ जनाले रोजगारी पाएका छन् ।

त्यस्तै, वडा नं ४ को जापाबाट गुमाउरो बाटोसम्म घोडेटो बाटो निर्माण जारी छ । सो बाटोमा रु एक लाख ७२ मा दिने गरी ४८ जनालाई परिचालन गरिएको छ । जुनिचाँदे–४ मा मालिका प्रावि फिल्ड बनाउन एक लाख ५० हजार विनियोजन गरी ४२ जनालाई काम लगाइएको छ। खुदबाट खालटाकुरासम्मको घोडेटो बाटो निर्माण गर्न ४३ युवायुवती परिचालित छन् । सो बाटोका लागि रु एक लाख ५३ हजार विनियोजन गरिएको छ।

जुनिचाँदे–५ स्थित जिउलाबाट बाइपाटासम्म घाडेटो बाटो बनाउन पाँच लाख ६५ हजार रूपैयाँ विनियोजन भई १५८ जनाले रोजगारी पाएका छन् ।वडा नं ५ कै हाँकुबाट गर्खाकोटसम्मको घोडेटो बाटो बनाउन चार लाख १८ हजार विनियोजन भएपछि १ सय १७ जनालाई रोजगारी मिलेको छ ।मानिमाला–रियाना–नारे–मौका इप्रका घोडेटो बाटो जुनिचाँदे–५ मा निर्माण गर्न ८६ युवा परिचालन गरिएको छ। त्यसको लागि तीन लाख ७० हजार रूपैयाँ रकम विनियोजन भएको छ ।

वडा नं ६ को कसारेखोलाबाट तुम्ला सिगारसम्म घोडेटो बाटो निर्माण गर्न दुई लाख ७९ हजार रूपैयाँ रकममा ७८ जनाले काम गरिरहेको गाउँपालिकाले जनाएको छ । वडा नं ६ को चौताराबाट फेदीसम्मको घोडेटो बाटो बनाउन दुई लाख ३० हजार रूपैयाँमा ५६ स्थानीयवासीले रोजगारी पाएको गाउँपालिकाका निमित्त अध्यक्ष शिवा आचार्य ९बस्नेत० ले बताए । गाउँका बेरोजगारलाई रोजगारी दिन यो कार्य गरिएको उनले बताए।क्वारेन्टिनमा बसेर घर फर्केका, विदेशबाट कामविहीन भएर घर फर्केकालाई यस्ता काममा सहभागी गराएको आचार्यले बताए। रासस

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार १५:३६