सूचनाको शक्ति - The Power Of Information

        

सरकारले खर्च सार्वजनिक गर्‍यो : आठ अर्ब ३९ करोड कोरोनामा खर्च

काठमाडौं । सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । कोरोना नियन्त्रणमा आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको विवरण सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो खर्चको विवरण सार्वजनिक गरेका छन् । संघीय सञ्चित कोषबाट ४ अर्व १० करोड ५५ लाख ६ हजार खर्च भएको थापाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै औषधी, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेनटाइन र अन्य गरी ५ अर्ब ६१ करोड ९२ लाख ४० हजार खर्च भएको विवरणमा उल्लेख छ । त्यस्तै प्रदेश सरकारका तर्फबाट १ अर्ब ३० करोड ४ लाख ९१ हजार रुपैयाँ खर्च भएको छ भने स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लख ९४ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

कोरोना कोषमा ४ अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ जम्मा भएको विवरणमा उल्लेख छ। यसअघि सरकारले १० अर्व बराबर खर्च भएको दाबी गरेको थियो । सरकारको उक्त दाबी सत्य नभएको भन्दै सडकदेखि संसदसम्म खर्च विवरण सार्वजनिक गर्न माग गरिएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार ११:१७