सूचनाको शक्ति - The Power Of Information

        

आजबाट बाँकेमा मल बिक्री शुरु गरिँदै

बाँके । बाँकेमा आजबाट रासायनिक मलको बिक्री वितरण प्रक्रिया शुरु गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लाका कृषकका लागि मलखादको बिक्री वितरण प्रक्रिया शुरु गरेको हो । सो कम्पनीले ठेकेदारमार्फत भैरहवाबाट मल नेपालगन्ज भित्र्याएको छ ।

कम्पनीका नेपालगन्ज प्रमुख रमेश पौडेलले ७३ मेट्रिकटन युरिया र ९७ मेट्रिक टन डिएपी कम्पनीको प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएकाले वितरण प्रक्रिया शुरु गरिएको जानकारी दिएका छन् । धानखेतीका लागि अझै दुई हजार ४०० मेट्रिक टन युरिया र ७०० मेट्रिक टन डिएपी आवश्यक रहेको उनले बताए ।

लकडाउनका कारण कोलकातामा अलपत्र परेको १२ हजार ५०० मेट्रिक टन डिएपी भित्र्याउने प्रक्रिया शुरु भइसकेकाले अबको एक हप्ताभित्र नेपालगन्ज पुगिसक्ने जनाइएको छ । युरिया मल भने भारतको गुजरातमै रहेकाले आयातमा अझै समय लाग्ने बताइएको छ । शाखा प्रबन्धक पौडेलका अनुसार बाँकेमा वार्षिक छ हजार मेट्रिक टन युरिया र तीन हजार मेट्रिक टन डिएपी आवश्यक पर्छ ।

जिल्लाका किसानलाई मल बिक्री वितरण गर्न दामासाहीका आधारमा सहकारीलाई जिम्मा लगाइएको शाखा प्रबन्धक पौडेलले जानकारी दिएका छन् । बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेडसँग आवद्ध १२० सहकारीमार्फत मल बिक्री हुँदै आएको छ । साल्टटे«डिङ कर्पोरेशनले ६६ सहकारीमार्फत मल वितरण गर्दै आएको छ । रासस

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार १०:०६