बाँके । कोरोनाबाट मृत्यु भएका युवकको परिवारलाई नरैनापुर गाउँपालिकाले ५० हजार रुपैयाँ प्रदान गरेको छ । अध्यक्ष इस्तियाक अहमद शाह आज मृतक युवकको घर वडा नम्बर ५ नयाँ बस्ती पुगेर परिवारलाई क्रिया खर्च स्वरुप ५० हजार रुपैयाँको चेक प्रदान गरेका छन् ।
मृतक युवकका बुवा, आमा र श्रीमतीलाई शाहले चेक हस्तान्तगरण गरे । ‘अहिलेलाई क्रिया खर्च स्वरुप ५० हजार दिएका हौं, अब मृतकको परिवारलाई घर बनाउन गाउँपालिकाले ३ लाख रुपैयाँ दिन्छ,’ अध्यक्ष शाहले भने ‘बालबच्चाको लागि मैले पनि व्यक्तिगत ५० हजार रुपैयाँ दिन्छु ।’ पीडित परिवारका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने अध्यक्ष शाहले बताए ।
‘यो नराम्रो घटनाले हामी सबैको मन रुवाएको छ, यो दुःखको घडीमा मनलाई सम्हाल्नुस्, म हरेक पल तपाईंहरुसंगै छु,’ अध्यक्ष शाहले पीडित परिवारलाई सान्त्वना दिँदै भने ‘अब यी दुई बालबच्चाको भविष्य राम्रो बनाउन लाग्नुपर्छ, त्यसका लागि म हरपल सहयोग गर्न तत्पर छु ।’ अध्यक्ष शाहले खाद्यान्न, तेल, नुन, दाल, झुल लगायतको राहत सामग्री पनि मृतक युवकको परिवारलाई प्रदान गरेका छन् ।
सो अवसरमा वडा नं–२ का अध्यक्ष मसुद अहमद शाह, गाउँपालिकाका योजना शाखा प्रमुख विजय यादव, प्रशासन प्रमुख भरत महतो, सूचना अधिकारी लक्ष्मीकान्त मिश्र लगायत उपस्थित थिए । गत जेठ ४ गते क्वारेन्टाइनमै बसेका बेला वडा नं–५ नयाँबस्तीका २५ बर्षीय युवकको मृत्यु भएको थियो । मृत्युपछि उनमा कोरोना पुष्टि भएको हो । भारतको मुम्बइबाट आएका उनी भगवानपुरको दिपेन्द्र प्रावि क्वारेन्टाइनमा थिए ।
सत्यपाटी ।