सूचनाको शक्ति - The Power Of Information

        

सर्लाहीमा गोली चल्यो, एक भारतीयको मृत्यु

सर्लाही । नेपाल–भारत सीमानाका अन्तरगत सर्लाहीको पर्सा गाउँपालिकामा सशस्त्र प्रहरीको बन्दुक खोस्दै नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई रोक्दा १५ राउन्ड गोली चलेको छ । भारतीय नागरिकहरूले सीमा सुरक्षामा खटिएका प्रहरीको एसएलआर खोस्न खोजेपछि गोली चलाउनु परेको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमा सुरक्षारार्थ खटिएको सशस्त्र प्रहरीले हुल बाँधेर आएका भारतीयलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी प्रवीणकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय खुलिनसकेको बताए । उनले भने, ‘घटनामा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् ।’ प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिसकिएको उनले बताए ।

सुरुमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब १०० जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भारतबाट तस्करी गर्न आएका मानिससँग सीमा क्षेत्रमा सशस्त्र प्रहरीको झडप भएको बताए । उनले भने, ‘अहिले थप सुरक्षा अधिकारी त्यहाँ पठाइएको छ, विस्तृत विवरण आउन बाँकी छ ।’ सर्लाहीको पर्सा गाउँपालिकाका प्रमुख किशुनदेव रायले घटनामा घाइते भएका केही व्यक्ति भारततिर भागेको बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार १२:४८