सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको ‘ड्रिम प्रोजेक्ट’ सकिने चरणमा

बाँके । नेपालगन्जको ‘ड्रिम प्रोजेक्ट’ वाटरपार्क क्षेत्रको निर्माण कार्य सकिने चरणमा पुगेको छ । लकडाउनको आधारभूत मापदण्ड पालना गर्दै स्थानीय श्रमिकको प्रयोग गरी वाटरपार्क क्षेत्रको सौन्दर्यीकरणको काम द्रुतगतिमा अघि बढाइएको छ । नगर विकास समितिबाट हस्तान्तरण भएको सो प्रोजेक्टको कामलाई उपमहानगरपालिकाले युद्धस्तरमा अघि बढाएको छ ।

झण्डै १३ वर्ष पुरानो उक्त ड्रिम प्रोजेक्टअन्तरगत अहिले सो सडक कालोपत्रको कामलाई द्रुतगतिमा सञ्चालन गरिएको छ । उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमा आधुनिक बस्ती बसाउने गरी प्रोजेक्ट सञ्चालन गरिएको हो । सो क्षेत्रमा करिव एक हजार बढी घरधुरी बसाउने योजना छ ।

नेपालगन्जको मुटु धम्बोझी–१ को उत्तरपश्चिममा पर्ने वाटरपार्कको कूल क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ । सोही तलाउलाई नै वाटरपार्कको नाम दिइएको हो । तलाउलाई नौका बिहार र पौडी पोखरीका रूपमा विस्तार गरिएको छ । पार्कमा आकर्षक र मनमोहक पूmलबारी, चिल्ड्रेनपार्क, व्यापारी प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिएको छ ।

यसैगरी वाटरपार्क क्षेत्रभित्र ६ देखि १८ मिटरसम्मको पक्की सडक निर्माण भइरहेको छ । यसका साथै नेपालगन्जको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिने छ । वाटरपार्क निर्माणको योजना १३ वर्षअघि तयार गरिएको थियो ।

विसं २०६५ मा शुरु भएको यो योजना शुरुवाती चरणमा जग्गा अधिग्रहणको क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलियो । अहिले जग्गा अधिग्रहणमा कुरा मिलेपछि निर्माणको कामले गति लिएको नगर विकास समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख डा. धवलशम्शेर राणाले बताए ।

वाटर पार्क क्षेत्रमा अधिग्रहण गरिएको जग्गाको प्रमाणपूर्जा तयार भइरहेको छ भने झण्डै ३५० घरधुरीलाई अस्थायी प्रमाणपुर्जासमेत वितरण भइसकेको छ । नापीको बाँकी केही सकेर बाँकी सबै घरधुरीलाई प्रमाणपुर्जा वितरण गरिने अध्यक्ष राणाले बताए । वाटरपार्क क्षेत्रका जग्गाधनीले समितिले तयार गरेको डिपिआरअनुसार घर संरचना निर्माण गर्नुपर्ने जनाइएको छ । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार १०:३८