सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा कोरोना संक्रमितको संख्या ९ पुग्यो

बझाङ । बझाङमा थप दुई जना कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । थलारा गाउँपालिका–३ का ३४ बर्षिय पुरुष र बित्थडचिर गाउँपालिका–९ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु दुबै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

४१ जनाको स्वाब परिक्षणका लागि सुदूरपश्चिम प्रादेशिक प्रयोगशाला धनगढीमा पठाएको र त्यहाँको रिपोर्ट अनुसार दुई जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल बझाङका फोकल पर्सन नारायण जोशीले बताए । संक्रमित दुबै जनालाई हालसम्म क्वारेन्टाइनमै राखिएको र उनीहरुको स्वास्थ्य अवस्थासमेत सामान्य रहेको जोशीले बताए ।

कोरोना पोजेटिभ भएपछि उनीहरुसँगै बसेका अन्य ब्यक्तिहरुको पनि पिसिआर परिक्षण गर्ने भएको छ । यसअघि बझाङमा कोरोना पुष्टि भएका सात जनामध्ये दुई जना जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ भने पाँच जनालाई सम्बन्धीत स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमै राखिएको छ ।

जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय क्षेत्रमा त्राससँगै सर्तकता बढ्दै गएको छ । प्रहरी प्रसासन र स्थानीय तहहरुले उच्च सर्तकता अपनाउन जोड दिएका छन् । खप्तडछान्ना गाउँपालिका–३ को एकै क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण देखिएपछि पालिकाले मंगलबारदेखि आवतजावतमा कडाई गरेको छ । बिहिबारसम्म जिल्लाका १९७ क्वारेन्टाइनमा तीन हजार २३७ जना रहेका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार ०९:१०