नेपालमा कोरोना नियन्त्रण र उपचारका सन्दर्भमा लकडाउन मात्र लगाइयो केही भएन भनेर प्रचार सुरु भएको छ । अब सडकमा प्रदर्शन गरेर तयारीको कामलाई समेत प्रभावित गर्ने कोशिस पनि देखिँदैछ । विरोधका एजेण्डा सकारात्मक देखिए पनि त्यसको प्रभाव भने नकारात्मक पर्नेतर्फ ध्यान जानु जरुरी छ ।
नेपालमा यस बीचमा केही भएन त ?
स्थानीय सरकारले बाहिरवाट आउने सबैलाई क्वारेन्टिनमा राखेका छन् । लकडाउनबाट प्रभावितलाई राहत वितरण गरेका छन् । कन्ट्रयाक ट्रेसिङ र परिक्षणमा सहजिकरण गरेका छन् । संक्रमितलाई आइसोलेशन केन्द्र पुर्याएका छन् । संख्या बढ्दै जाँदा आफैले पनि आइसोलेशन केन्द्र बनाउँदैछन् । प्रदेश सकारले कोभिड १९ को नियन्त्रण र उपचारको प्रदेशस्तरको रणनीति बनाएर कार्यान्वयनमा ल्याएका छन् ।
केन्द्रको निर्देशनभन्दा अघि बढेर कोरोना विशेष अस्पताल र आइसोलेशन केन्द्र बनाएका छन् । प्रयोगशाला बनाएका छन, विस्तार गर्दैछन् । सम्भव भएसम्म स्वास्थ्य सामाग्री जुटाएका छन् । जिल्ला र पालिकाहरुलाई सहजिकरण गरेका छन। समय समयमा आर्थिक भरथेग पनि गरेका छन् । केन्द्र सरकारले प्रत्यक्ष रुपमा मार्गदर्शन गरिरहेको छ । उपचार र परिक्षणको संयोजन गरेको छ । स्वास्थ्य सामग्री र परिक्षण किट उपलब्ध गराउँदै आएको छ ।
संकटग्रस्त ठाउँमा जनशक्ति पठाउने काम गरेको छ । प्रयोगशाला विस्तारमा सहयोग गरिरहेको छ । सिमाबाट हुने अनियमित प्रवेशलाई रोकेको छ । लकडाउन जारी भएपछि केन्द्र सरकारको मार्गदर्शनमा प्रदेश सरकार र स्थानीय सरकार मिलेर झण्डै २ लाख बाहिरबाट आउनेको सुरक्षित ढंगले व्यवस्थापन गरेका छन । अहिले पनि डेढ लाखलाई क्वारेन्टिनमा राखेर समुदायलाई संक्रमणबाट जोगाउने प्रयास गरिरहेका छन् ।
केन्द्र सरकारले अनेकौं समस्या झेल्दै यस अभियानको नेतृत्व गरिरहेको छ । एउटा प्रयोगशालाबाट सुरु भएको परिक्षण २२ वटा प्रयोगशाला बिस्तार भएको छ । सयौंको संख्यामा आइसोलेशन केन्द्र निर्माण भएका छन। यस बीचमा परिक्षण, उपचार र निको हुने दर तिब्र रुपमा बढेको छ । तर पनि हाम्रो तयारी भन्दा भाइरसको गति तिब्र छ । महामारीको पूर्वतयारीमा विश्व नै थिएन । हामी तयार हुने अवस्था नै थिएन ।
यस्तो अवस्थामा अभाव देखिनु र समाधान गर्दै जानु कोभिड १९ विरुद्धको संघर्षको विशेषता हो । हामी कहाँ भएको त्यस्तै छ । अहिले हामी जहाँ आइपुगेका छौं, हिजोको तुलनामा धेरै प्रगति भएको छ । आवश्यकता जे छ त्यस हिसाबले अझै गर्न धेरै बाँकी छ । लकडाउनबाट हामीले धेरै नै उपलब्धि र काम गर्ने अवसर पायौं । अहिलेको तयारी त्यसकै परिणाम हो । तर पछिल्लो समय भारतको बढ्दो संक्रमणको असर प्रवासी श्रमिकले बेहोर्नुपर्यो ।
उहाँहरु फर्कने क्रममा भित्रिएको भाइरसको संक्रमणले हामीलाई चुनौति दिइरहेको छ । भारतबाट आउनेको संख्याका आधामा मात्र भन्ने हो भने यही चरणमा दश हजारभन्दा माथि नै संक्रमित संख्या पुग्न सक्छ । यस्तो अवस्थामा थप तयारीका लागि सरकारलाई सबैले प्रेरित र प्रोत्साहित गर्नुपर्ने होइन र ? तर हामीमा हौसला प्रदान गर्ने भन्दा विरोधको प्रवृत्ति हावी छ । औषधि किन्न खोज्यो आउन नपाउँदै विरोध सुरु हुन्छ ।
सुरक्षा निकायलाई महामारीका विरुद्धमा परिचालन गर्यो, परिचालन नगर्दै विरोध हुन्छ, खर्च कम छुट्यायो भन्यो विरोध, खर्च धेरै भो भन्यो विरोध । समाजमा बिरोधको प्रवृत्ति हावी भएका कारणले प्रशासन यन्त्र निरुत्साहित छ । भाइरसका विरुद्धमा प्रयोग हुने कुन सामग्रीको मूल्य कति भन्ने कुराको कुनै टुंगो छैन । बजारमा अभाव हुँदा सामानको मूल्य बढिहाल्छ । अलिकति संक्रमण नियन्त्रणमा आउने अवस्था देखिँदा सामग्रीको मूल्य घट्न थालिहाल्छ ।
https://www.facebook.com/shankar.pokhrel.946/posts/1572312939591250
तर हामी दिनदिनको मूल्य तुलना गरेर हतोत्साहित बनाउन खोज्छौं । हिजो जसले सस्तोमा समान दिन्छौं भने, ती आज वेपत्ता छन् । कोटेशन आह्वान गर्दा समेत प्रस्ताव आउने गरेको छैन । अब त जिटुजीको पनि विरोध सुरु भइसक्यो । तल सामग्रीको अभाव छ । काठमाडौं मूल्यको बहसमा अल्झेको छ । अहिले प्रदेश र स्थानीय तह निजी क्षेत्रलाई गुहारेर चन्दाका रुपमा सामग्री पाउने कोशिस गर्दैछन् ।
पैसा भएर पनि स्वास्थ्य सामग्री किन्ने आँट प्रशासनले गरिरहेको छैन । आँट गरोस् पनि कसरी ? संचार माध्यममा आशंका र विरोधको बाढी छ । के यति बेला हामी भन्न सक्दैनौं, जसरी हुन्छ जनताको जीवनको रक्षा गर । हिसाब किताव समय आएपछि गरौंला । खोज्ने निकाय पनि छँदैछन । खोजिरहेका पनि छन् । प्रणालीप्रति विश्वास गरौं, विश्वास वढाऔं । अहिले सबैभन्दा बढी संक्रमण प्रदेश २ र ५ मा देखिएको छ ।
अहिले त्यहाँ देखिएको संक्रमणको संख्याभन्दा तेब्बर बृद्धि हुने देखिन्छ । तर अहिलेसम्म देखिएको संक्रमितको संख्यामा भारतबाट आउनेको हिस्सा ९२ प्रतिशतभन्दा माथि छ । समुदायमा पुगेको संक्रमितको संख्या निकै कम छन। त्यो पनि पहिचान भएको अवस्थामा छिट्टै नियन्त्रणमा आएका छन् । अझै पनि हाम्रो अवस्था नियन्त्रण बाहिर पुगेको छैन । तर सरकारको योजना र निर्देशनलाई अवज्ञा गर्ने कुरालाई प्रोत्साहित गर्ने हो भने स्थिति बिग्रन सक्छ ।
चीनजस्ता मुलुकको सफलताबाट शिक्षा लिने हो भने राज्य प्रभावकारी हुनै पर्दछ । तर अगुवा नै सरकारबिरुद्धको जुलुसको नेतृत्वकर्ता हुने भने हो राज्य कसरी प्रभावकारी होला ? अगुवाले नै राज्यको निर्देशन अवज्ञा गरेको देखिंदा सर्वसाधारणले त्यसबाट के सिक्ला ? मेरो विचारमा गरिखाने वर्गले अझै सरकारको आदेश मानिरहेकै छ । तर बचतको अवस्थामा रहेको वर्गलाई तुरुन्तै सामान्य अवस्थामा फर्कनु परेको छ ।
एकैचोटी विदेशकालाई उद्धार गर, लकडाउन पनि अन्त्य गर भन्ने कुरा कतिसम्म उचित कुरा हो ? मेरो विचारमा यस्तो असन्तुलित विचारले हामीलाई गम्भिर दुर्घटनामा नै लैजाने हो । तर भइरहेको छ त्यही । समाजमा एकातिर अवज्ञा र अर्कातिर भय र त्रासको मनोविज्ञान देखिंदैछ । यो विरोधाभाषपूर्ण अवस्थाको अन्त्य गर्ने कुरामा बौद्धिक वर्ग नै अगाडि आउनुपर्छ । अहिलेसम्म दक्षिण एशियामा हामी भन्दा राम्रो अवस्थामा भुटान र श्रीलंका मात्र छन् ।
यसको कारण ती देशहरूमा बैदेशिक रोजगारीमा जानेको संख्या तुलनात्मकरूपमा हाम्रोभन्दा कम भएको कारणले पनि संक्रमण नियनत्रण गर्न सहज भएको हो । हाम्रो देशको भन्दा राम्रो क्षमता भएका मुलुकको अवस्था हाम्रोभन्दा अझै खराव छ । अहिलेसम्म हाम्रो अवस्था राम्रो हुनुको अर्थ अहिलेसम्मका हाम्रा कार्यनीति सही हुनु नै हो । अब सरकारलाई नीति परिवर्तनका लागि बाध्य बनाउँदा अहिलेको अवस्थाभन्दा राम्रो हुने सुनिश्चितता हुनुपर्यो नि । तर अहिले नै त्यस्तो अवस्था आइसकेको छ जस्तो लाग्दैन ।
त्यसैले सरकारको निर्देशनलाई पालन गरौं । सामाजिक दुरी कायम गरौं । बाहिरी मान्छेसंग सम्पर्कमा आउँदा अनिवार्य रुपमा मास्कको प्रयोग गरौं । बाहिर जाँदा हातले कुनै बस्तु नचलाऔं । चलाउनु परेमा तत्काल सेनिटाइजर गरौं वा सावुन पानीले हात धोऔं । यसमा सिंगो समाज अभ्यस्त भएमा एक महिनापछि स्थितिलाई सहज बनाउँदै लान सकिन्छ । त्यसपछि आउने चुनौतिलाई बनेको संरचनाले पनि सामना गर्ने अवस्था सिर्जना हुनेछ ।
#मुख्यमन्त्री शंकर पोखरेलको फेसबुकबाट
शंकर पोखरेल, मुख्यमन्त्री, प्रदेश ५ ।