सूचनाको शक्ति - The Power Of Information

        

कविता : ‘पाप पखाली आऊ’

झुठा संकल्प देखाई जनमा, छर्दछौं भ्रमको खेती !
पेशा नै बनायौं क्या विधि गनायौं, आमाको गला रेटी !!
नासो नि भनेनौं विवेकी बनेनौं, बेच्यौं नि उपहार !
बन्द भए भएका कारखाना, जनका खोस्यौं रोजगार !!

कैले कोशी त कैले गण्डक, बेच्यौ राखेनौं महाकाली !
लिपु लिम्पिया र काली पनि कतै, बेचिसक्यौं कि जाली !!
झुकायौं स्वाभिमान, यो कस्तो अभिमान भयौं दानव !
देखिन्न तिमीमा कतै पनि आज, बहादुर मानव !!

मिली भगतमा बेचेर देश नै, खान पल्केका तिमी !
दिनदहाडै गाएव हुन्छ जङ्गे, चेपिन्छ हाम्रो भूमि !!
चोर आई घरमा पसेर लुट्दा, हेर्छन् तमासा बसी !
के अर्थ भो पालेर सेनालाई, पाले झैँ खोरमा खसी ?

फिरङ्गी लगारी विरङ्गाना विरले, सुम्पेको यो नासो !
यही माटो भयो किन आज, तिमीलाई गलाको पासो !!
समय आउँछ पर्खिदैन, जाऊ पाप पखाली आऊ !
जाऊ छाती चौडा गरेर, सीमामा बैरीलाई भगाऊ !!

 

२९ जेठ २०७७
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार १२:१५