काठमाडौं । सरकारको आज बिहीवारबाट पसलहरू खोल्न दिने निर्णय गरेको छ । बुधवार साँझ बसेको मन्त्रिपरिषद बैठकले आजदेखि पसलहरू खोल्न दिने निर्णय गरेको एक मन्त्रीले बताए । ‘आजबाट पसल खोल्न दिने र जोरबिजोर प्रणालीबाट निजी सवारीसाधन चलाउन दिने निर्णय भएको छ,’ ती मन्त्रीले भने ।
कहाँकहाँ खुल्न पाउनेछन् भन्ने प्रश्नमा उनले भने, ‘कोरोना संक्रमण कम भएका ठाउँहरूमा खुल्नेछन् । बढी भएका ठाउँमा स्थानीय प्रशासनले निर्णय गरेबमोजिम हुनेछ ।’ यससँगै काठमाडौँ लगायतका ठाउँहरूमा पसलहरू आजबाट खुल्न पाउने भएका छन् । सरकारले यससँगै लकडाउन खुकुलो बनाउँदै जान थालेको संकेत दिएको छ ।
सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन् । त्यस्तै लाखौँ विद्यार्थीहरूको भविष्यसँग जोडिएको एसइई परीक्षा भने आन्तरिक मूल्यांकनबाट गरिने भएको छ । बुधवार शिक्षामन्त्रालयले यससम्बन्धी कार्ययोजना तयार गरेर मन्त्रिपरिषद बैठकमा लगेको थियो । त्यसैलाई बैठकले सदर गरेको हो ।
सत्यपाटी ।