रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको सामुहिक हत्या भएको छ । हत्या गर्ने सोही फर्मका कामदार सुर्खेतका झपेन्द्र सिँजाली रहेको खुलेको छ । उनले प्रहरीसँगको प्रारम्भीक बयानमा आफ्नो कसुर स्वीकार गरिसकेका छन् । उनीहरुले आफुलाई दुख दिएकोले मार्नु परेको बयानको क्रममा भनेका छन् ।
कडा खालको मानसिक रोगी वा लागुपदार्थको दुर्व्यसनीमा आफू असुरक्षित छु, मलाई कसैले मार्न खोज्दैछ वा आफूमाथि षडयन्त्र हुँदैछ वा कसैले आफुलाई दुख दिन खोज्दैछ भन्नेजस्ता सोचाइँमा भ्रम हुन्छ । जसको कारण अरु वा आफैलाई पनि हानी नोक्सानी पुर्याउन सक्छ । स्थानीयका अनुसार सिँजाली मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् । हत्या आरोपी सिँजालीले राती ९ बजे खाना खाएर फर्ममा आउँदा रक्सी बोकेर आएको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।
आरोपित ब्यक्तिको मानसिक स्वास्थ्य अवस्था ठिक नभएको अवस्थामा समाजमा कहिलेकाहीँ यस्ता अकल्पनीय र दुखद् घटना हुन पुग्छन् । केही समयअघि मात्र बेलबारीमा यस्तै दुखद् घटना भएको थियो । एक ३१ बर्षिय जीवन लिम्बू नामका ब्यक्तिले आफ्नी ५५ बर्षकी आमा देवीकुमारी लिम्बूको हत्या गरि आफुले पनि आफ्नो घाँटी आफैले रेटेर बीभत्स तरिकाले आत्महत्या गरेका थिए । उनी जाँड रक्सिको दुर्व्यसनी तथा मानसिक रोगी थिए ।
बेला बेलामा मानसिक रोगका कारण यस्ता दुखद् घटना हुँदा ‘मानसिक रोगीहरु हिंसात्मक र डरलाग्दा हुन्छन् । उनीहरुलाई घर परिवार, समाजबाट ढाटा राख्नुपर्छ वा बाधेर राख्नुपर्छ’ भन्ने धारणा आममानिसहरुमा पाइन्छ । मानसिक सन्तुलन गुमाएको ब्यक्तिले कसैको हत्या गर्यो रे भन्ने समाचार सुन्दा वा देख्दा मानसिक रोगी हिंसात्मक नै हुन्छन् भन्ने हामीलाई लाग्न पनि सक्छ । तर सबै मानसिक रोगी हिंसात्मक हुदैनन् ।
नरम खालको मानसिक समस्या भएका व्यक्तिले हत्या, हिंसा गर्ने सम्भावना हुँदैन । कडा खालको मानसिक रोग लाग्दा भने शंका, अत्याधिक आबेग, सोचाइँमा हुने मतिभ्रम (Delussion), हेराई, सुनाईमा हुने मित्थावास (Hallucination) का कारण अन्जानवस यदाकदा यस्ता घटना घट्ने पनि गरेका छन् । विशेषगरी जाँडरक्सी तथा लागूको दुर्व्यसनी तथा अन्य मानसिक रोगहरु जस्तो सिजोफ्रेनिया, मेनिया, अति रिस उठने रोग, डिलेरियम, डिमेन्सियाजस्ता रोगमा बिरामी कहिलेकाहीँ आबेगमा आएर हिंसात्मक व्यवहार देखाउनसक्छ ।
उनीहरुले यस्तो घटना घटाउनुको पछाडि कसैलाई दुख दिन्छु, बदला लिन्छु भनेर जानीबुझी गरेका हुँदैनन् । उनीहरुमा यस्तो सोच्ने क्षमता पनि हुँदैन । यसको अपवाद असामाजिक व्यक्तित्व भएका (Psychopath)हरुमा भने बदलाको भावना हुन्छ उनीहरु सोचविचार गरिकन अपराध गर्ने गर्दछन् । अपराध गरेकोमा उनीहरुलाई कुनै पछुतो पनि हुँदैन । मानसिक समस्यामा परेको व्यक्तिबाट कुनै किसिमको अप्रिय घटना नहोस् भनेर घर परिवारका सदस्यले विशेष ध्यान पुर्याउनुपर्छ । बिरामीले अरुलाई मात्र होइन आफुलाई पनि खतरामा पर्न सक्छ ।
मानसिक रोगिसँग व्यवहार गर्दा ध्यान दिनुपर्ने कुरा :
- कडा खालको मानसिक रोग लागेको ब्यक्तिलाई म रोगी छु मैले उपचार गर्नु्पर्छ भन्ने ज्ञान हुँदैन । यस्तो अबस्थामा घर परिवारका सदस्यले फकाई फुल्याईकन अस्पताल लैजानुपर्छ ।
- उनीहरुसँग विवाद गर्ने, झर्को फर्को गर्ने गर्नुहुँदैन । औषधी खान नमान्दा फकाएर खुवाउनुपर्छ ।
- बिरामी र परिवारलाई असुरक्षाको महसुस भएमा अस्पतालमा भर्ना गर्नुपर्छ ।
- उनीहरुसँग ठूलो स्वरले बोल्ने, ईशाराले बोल्ने, आँखामा आँखा जुधाएर बोल्ने गर्नुहुँदैन ।
- मानसिक रोगीले भेट्ने गरी हात हतियार, धारिलो वस्तु, डोरी लगायतका सामान राख्नुहुँदैन ।
- विरामी उत्तेजित भएका बेला रेडियो, टिभी बन्द गर्नुपर्छ ।
- आफुलाई खतरा महसुस भएमा तुरुन्त रोगीबाट टाढा जानुपर्छ ।
- मानसिक रोगले जाँड, रक्सी, लागुपदार्थको सेवन गरेमा दुर्घटनाको जोखिम अझ बढ्ने हुँदा बिशेष सतर्कता अपनाउनुपर्छ ।
(लेखक मार्क नेपाल मनोसेवा केन्द्रमा आवद्ध छन् ।)
गोपाल ढकाल, मनोविद् ।