सूचनाको शक्ति - The Power Of Information

        

कहाँ हराए जोगागाउँ आइसोलेसनबाट भागेका कोरोना संक्रमित ?

बाँके । जानकी गाउँपालिका–१ जोगागाउँस्थित श्री माध्यमिक विद्यालय आइसोलेसनबाट भागेका संक्रमित अझैँ फेला परेका छैनन् । क्वारेन्टाइनमा राखेको चार दिन बित्न नपाउँदै उनी आइसोलेसनबाट रातको समयमा भागेका थिए । शौच गर्न जाने बहाना बनाएर उनी सोमबार राति प्रहरीको आँखा छलेर भागेको वडाध्यक्ष मोहम्मद रजा राईले बताए ।

बिहान ४ बजे आफ्नो टोलीका सदस्य गणना गर्ने क्रममा उनी फेला नपरेपछि प्रहरीलाई खबर गरिएको उनले बताए । उक्त आइसोलेसनमा ४१ जना संक्रमित राखिएका छन् । आइसोलेसनको दक्षिणतर्फ पर्खाल नभएकाले उनलाई भाग्न सजिलो भएको प्रहरीले बताएको छ । पर्खाल नभएको भागमा प्लाष्टिकले बेरिएको छ ।

वडाध्यक्ष राईले भने, ‘प्रहरीको आँखा छलेर त्यहीँबाट संक्रमित भागेको हुनुपर्छ ।’ जेठ ९ मा क्वारेन्टाइनमा राखिएका ती व्यक्तिको कोरोना जाँच गर्दा जेठ २२ मा संक्रमण पुष्टि भएको थियो । संक्रमित व्यक्ति भागेको जानकारी पाउना साथ खोजीका लागि प्रहरी परिचालन गरिए पनि फेला नपरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए ।

‘खोजीका लागि अन्य सुरक्षा निकायसँग पनि समन्वय भएको छ,’ उनले भने, ‘सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ ।’ आइसोलेशनबाट भागेका ब्यक्ति भारत गएको अनुमान लगाइएको छ । उनी एक महिनाअघि भारतबाट आएका थिए । पहिले महेन्द्र बहुमुखी क्वारेन्टाइनमा बसेका उनी त्यहाँबाट पनि भागेको वडाध्यक्ष राईले बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार १८:४७