जाजरकोट । भर्खरै हुर्कंदै गरेको मकैबालीमा फौजी किराले काट्दा समस्यामा परेका कृषकलाई खेतबारीमै औषधिसहितको कृषि प्राविधिक खटाइको छ । जिल्लाको शिवालय गाउँपालिकाले औषधिसहितको प्राविधिक टोली कृषकको खेतबारीमा खटाएर औषधि गर्न थालेपछि कृषक खुशी भएका छन् ।
कोरोना भाइरसका कारण समस्यामा परेका बेला खेतबारीमै प्राविधिक पठाएर रोगको निदान गरेपछि आफूहरु खुशी भएको शिवालय गाउँपालिका–३ का कृषक लालबहादुर थापाले बताए । गाउँपालिकाभरि फौजी किराले मकै सखाप पारेपछि कृषक हैरान भएको उनले बताए । अहिले प्राविधिक गाउँगाउँमा गएर उपचार गर्दा केही सहज भएको अर्का कृषक उद्धय शाहीले बताए ।
गाउँपालिकाभित्र रोपिएका मकैमा कहाँ कहाँ फौजी किराले मकैको बोट काटेको छ त्यहाँबाट सिधा गाउँपालिकामा सम्पर्क गर्नसमेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए । फौजीकिरा नियन्त्रण गरी कृषिजन्य वस्तु उत्पादनका लागि वातावरण तयार गर्न गाउँपालिकाले फौजीकिरा नियन्त्रण तथा व्यवस्थापन कोष स्थापना गरेको छ ।
सोही कोषमार्फत कृषकलाई परेको समस्या समाधान गर्न लागिएको अध्यक्ष शाहीले जानकारी दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले भने, ‘अध्यक्षलगायत अन्य जनप्रतिनिधि र स्थानीयवासीले दिएको सूचनाका आधारमा हामी विषादी र स्प्रे ट्याङ्की बोकेर गाउँगाउँका खेतबारीमा पुग्छौँ ।’
गाउँपालिकाभित्र रहेका कृषि जेटिए पढेर बसेका आन्तरिक जनशक्तिलाई दैनिक रु ५०० भत्ता दिएर फौजीकिरा नियन्त्रणका लागि खटाइएको अधिकृत शर्माले बताए । पहिलो चरणमा रु दुई लाख ५० हजार कोष स्थापना गरेर फौजी किरा नियन्त्रणको काम भएको समेत उनले बताए । शिवालय गाउँपालिकामा मकै सबैभन्दा बढी उत्पादन हुने अन्नमध्येमा पर्छ ।
करिब १८ हजार जनसङ्ख्या भएको सो गाउँपालिकामा दुई हजार ४९२ घरधुरी रहेको छ । सिँचाइ क्षेत्र कम भएको यहाँ आकाशे पानीको भरमा वर्षेनी खेती हुँदै आएको छ । शिवालय गाउँपालिका जिल्लाको पश्चिम भागमा रहेको छ । साविकका तीनवटा गाविस सीमा, थालारैकर र जुंगाथापाचौर मिलेर शिवालय गाउँपालिका बनाएको हो ।
स्थानीय जीवनशैली, परम्परागत संस्कृति, प्राकृतिक स्रोत, साधन, पर्यटनको प्रचुर सम्भावना, जल तथा काठजन्य वन क्षेत्रको पर्याप्तता शिवालय गाउँपालिकाको प्रमुख विशेषता हो । जिल्लाको कूल क्षेत्रफल २२२३.३५ वर्ग किलोमिटरमध्ये १३४.२६ अर्थात् १२५ भूभाग शिवालय गाउँपालिकाले ओगटेको छ । यातायातको हिसाबले भर्खरमात्र यो गाउँपालिकामा मौसमी यातायात सञ्चालन हुनेगरी बाटो निर्माण कार्य भइरहेको छ । रासस
सत्यपाटी ।