बाँके । नेपाली चलचित्र क्षेत्र पहिलेजस्तै चलायमान कसरी होला ? हलमा चलचित्र रिलिजको वातावरण कसरी बनाउने ? के पहिलेजस्तै दर्शक हलमा ल्याउन सहज छ त ? लक डाउन खोलेपछि हलमा कुन चलचित्र चलाउने ? यतिबेला चलचित्र क्षेत्रमा यस्ता प्रश्नहरु थुप्रै छन् । जसको समाधान चाडोभन्दा चाडो खोज्न आवश्यक छ ।
किनकी, हल खुले पनि निर्माताहरु तत्काल चलचित्र चलाउन तयार छैनन् । यस्तो अवस्थामा दर्शकलाई हलसम्म आकर्षित गर्न कस्ता खालका रणनीति बनाउने ? सबैले सोच्नुपर्ने बिषय बनेको छ । चलचित्र संघका निवर्तमान अध्यक्ष एवं निर्माता प्रदिपकुमार उदय चलचित्र क्षेत्रलाई चलायमान बनाउन सबैको साथ जरुरी रहेको बताउँछन् ।
उदय भन्छन्, ‘करिब ३ महिनाको लागि १० वटा चलचित्र छनोट गरि रिलिजको व्यवस्था गर्नुपर्दछ । ठूलो पर्वमा २ वटा र अरु बेलामा १ वटामात्र चलचित्र रिलिजको व्यवस्था मिलाउनुपर्छ । यसरी छनोट गरिएका चलचित्रलाई चलचित्र विकास बोर्डले अनुदान र प्रोत्साहनको प्याकेज ल्याउन आवश्यक छ । यो संकटको समयमा चलचित्र रिलिज गर्ने निर्माताको व्यापारलाई सहज बनाउने वातावरण निर्माण गर्न सरोकारवाला सबैले सक्दो सहयोगात्मक भूमिका निर्वाह गर्न आवश्यक छ ।’
उदयले यसो गर्दा चलचित्र क्षेत्र चाडो चलायमान हुनेसमेत विश्वास व्यक्त गरेका छन् । उदयले, कम्तीमा ३ महिनासम्मका लागि नेपाली चलचित्र रिलिजका लागि चलचित्र संघ र चलचित्र निर्माता संघ बसेर सहमती गर्नुपर्ने आवश्यकतासमेत औल्याएका छन् । दुई संस्थाको छलफलमा निर्माता, वितरक र चलचित्र प्रदर्शक सबैलाई प्रोत्साहन नीति लिएर अगाडि बढ्नुपर्ने पनि उदयको सुझाव छ । उनले, लकडाउनको समयमा चलचित्र हेर्ने दर्शकको संख्या बढेको भन्दै स्तरिय नेपाली चलचित्र निर्माणमा पनि जोड दिएका छन् । उनले, विदेशबाट फर्किने लाखौं युवाहरु नेपाली चलचित्रको वास्तविक दर्शक पनि भएकाले आशावादी हुन आग्रह गरेका छन् ।
सत्यपाटी ।