सूचनाको शक्ति - The Power Of Information

        

३९ यात्रु बोकेको टिप्पर कर्णालीमा खस्यो

बाँके । कालीकोटमा यात्रु बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ । बुधबार बिहान भएको यो दुर्घटनामा ठूलो हताहतीको आशंका गरिएको छ । अहिले प्रहरी टोली दुर्घटनास्थलमा उद्धारका लागि खटिएको छ । क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

भारतबाट आएका झण्डै ३९ जना यात्रु बोकेको ना ८ ख ५१३३ नम्बरको टिप्पर छान्नी त्रिवेणी गाउँपालिका लालीघाट भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो । उनीहरुलाई राजपुर गाउँपालिकामा रहेको क्वारेन्टाइनमा राख्न लैजाने क्रममा यो दुर्घटना भएको हो । टिप्परमा ३९ जना रहेको बताइए पनि यकिन विवरण भने प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले भने, ‘घटनामा २ जनाको शव फेला परेको जानकारी छ, अरु विवरण आउने क्रममा रहेको छ । घटना भएको ठाउँमा फोनले काम नगर्ने रहेछ । त्यसैले दुर्घटनाको विस्तृत विवरण आउन समय लाग्छ ।’ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगिसकेको र उद्दार कार्य भइरहेको प्रजिअ गैरेले बताए । दुर्घटना भएको थाहा पाएलगत्तै आफू पनि घटनास्थलतिर जान लागेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार ११:५५