सूचनाको शक्ति - The Power Of Information

        

नेपालीका शव स्वदेश लैजान साउदीको ताकेता

काठमाडौं । साउदी सरकारले त्यहाँ मृत्यु भएका नेपालीहरुका शव तत्काल स्वदेश लैजान पत्राचार गरेको छ । साउदीस्थित नेपाली दूतावासलाई त्यहाँको विदेश मन्त्रालयले पत्र पठाउँदै कोरोना संक्रमण वा अन्य कारणबाट ज्यान गुमाएका नेपालीका शव तत्काल लैजान समय तोकेरै पत्राचार गरेको हो । कोरोना संक्रमणका कारण ज्यान गुमाएका नेपालीका सबै शव ७२ घण्टा र अन्य कारणबाट ज्यान गुमाएकाको शव १४ दिनभित्रमा आफ्नै देश लैजान भनेको छ ।

यदि यो अवधिमा शव नउठाए त्यहीँ अन्त्येष्टि गरिदिने दूतावासलाई जानकारी गराएको छ । यस्तो अवस्था कोरोना संक्रमणका कारण सिर्जना भएको र यो व्यवस्था अस्थाई रुपमा गरिएको साउदीले नेपाली पक्षलाई भनेको छ । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा साउदीबाट झण्डै तीन महिनादेखि नेपालीको शव ल्याउन सकिएको छैन । कोरोना र अन्य कारणबाट ज्यान गुमाएका नेपालीको संख्या दिनदिनै बढिरहेको छ । साउदीमा ७५ नेपालीको शव रहेको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र प्रसाद सिंह राजपुतले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख गरेका छन् ।

यीमध्ये केही शव साउदीमै अन्त्येष्टि गर्न परिवारले लिखित सहमती दिएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार शुक्रबारसम्म साउदीमा ९ जना नेपाली नागरिकको कोरोनाका कारण ज्यान गएको छ । हालसम्म ७ वटा शव साउदीमै अन्त्येष्टि गर्न कागजात जारी गरिसकिएको र अन्य शव कि तत्काल स्वदेश लैजानुपर्ने वा परिवारको सहमति लिएर साउदीमै अन्त्येष्टि गर्नुपर्ने दूतावासले जनाएको छ । सरकारले विदेशमा अलपत्र नेपालीलाई फर्काउने तयारी गरिरहेको भन्दै ती उडानमा सहमति नदिएका परिवारका आफन्तको शव पनि पठाउनुपर्ने राजदूत राजपुतले उल्लेख गरेका छन् ।

तर मृतक नेपालीको कम्पनीसँगको हिसाव किताव सुनिश्चित गर्न समस्या भइरहेको दूतावासले जनाएको छ । ‘यहाँका सरकारी कार्यालयहरु लामो समयदेखि बन्द भएका हुँदा अधिकांश मृतकले पाउनुपर्ने बाँकी बक्यौताको हिसाव समेत प्राप्त गर्न सकिएको छैन । धेरै कम्पनीले मृतकले पाउनुपर्ने सुविधा लगायत हिसावको अनुमानित रकम राजदूतावासको खातामा राखिदिने र पछि कार्यालयहरु खुलेपछि पाउनुपर्ने हिसाव मिलाउने प्रतिबद्धतासमेत जनाएका छन् । सबैबाट यो प्रतिबद्धता लिने प्रयास भइरहेको छ,’ दूतावासको पत्रमा उल्लेख छ ।

साउदी सरकारले इदपछि सरकारी कार्यालयहरु खुल्ने तर जुन २० सम्म कार्यालयहरुमा सेवाग्राहीको भौतिक उपस्थिति नहुने निर्णय गरेको थियो । तर पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले आइतबारबाट पुनः कर्मचारीहरु कार्यालयमा उपस्थित हुन नपर्ने निर्णय गरेको छ । जुन निर्णयका कारण मृतकलाई रोजगारदाता कम्पनीले दिनुपर्ने बाँकी हिसाव किताव तत्काल उपलब्ध गराउन सक्ने अवस्था नरहेको दूतावासले जनाएको छ । साउदीको ताकेतापछि राजदूतले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई शव तत्काल स्वदेश ल्याउने पहल गरिदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलवार १३:३९