सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ९७ जना कोरोनामुक्त, डिस्चार्ज भएका तीन जना फेरि आइसोलेसनमा

बाँके । बाँकेमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९७ पुगेको छ । कोरोना भाइरस संक्रमणको दर उच्च रहेको बाँकेमा कोरोनामुक्त हुनेको संख्या पनि बढेको छ । आजमात्रै २९ जना कोरोनामुक्त भएसँगै ९७ जनाले कोरोनालाई जितेका हुन् ।

आज मंगलबार नरैनापुर गाउँपालिकाका २२ जना र राप्तीसोनारी गाउँपालिकाका ७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् । बाँकेको कोहलपुरस्थित कृषि बिकास बैंकको तालिम केन्द्रको आइसोलेसन सेन्टरमा रहेका नरैनापुरका २२ जना कोरोनामुक्त भएका हुन् ।

त्यस्तै राप्तसिोनारी गाउँपालिकाको वडा नं. १ माथेवास आइसोलेसन सेन्टरबाट ३ जना, वडा नंं ८ को शिवशक्ति मावि आइसोलेसन सेन्टरबाट ३ जना र वडा नं. ९ झिझरी आइसोलेसन सेन्टरबाट एक जना कोरोनामुक्त भएर घर फर्किएका छन् । बाँकेमा हालसम्म कोरोना संक्रमित संख्या २७९ पुगेको छ । जसमध्ये १ जनाको मृत्युसमेत भइसकेको छ ।

यसैवीच, पोजेटिभ रिपोर्ट आए पनि दाङ्गस्थित कोरोना विशेष अस्पताल, बेलझुण्डीले डिस्चार्ज भएका नरैनापुरका तीन जनालाई नेपालगन्जस्थित लायन्स डेन्टल अस्पतालको आइसोलेशनमा ल्याइएको छ । पोजेटिभ हुँदाहुँदै अस्पतालले डिस्चार्ज गरेर घर पठाएपछि स्थानीयले विरोध गरेका थिए ।

कोरोना विशेष अस्पताल, बेलझुण्डीले नयाँ निर्देशिका अनुसार कोरोना रिपोर्ट पोजेटिभ आए पनि उनीहरुलाई डिस्चार्ज गरेको थियो । लायन्स डेन्टलको आइसोलेशनमा नरैनापुरका थप ११ जना कोरोना संक्रमितले स्वास्थ्य लाभ गरिरहेको फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनका अनुसार बाँकेका विभिन्न आइसोलेसन अस्पताल तथा सेन्टरमा कुल १८१ जना उपचाररत रहेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलवार १२:२०