सूचनाको शक्ति - The Power Of Information

        

रूपन्देहीमा हत्या भएका पाँचै जनाको पहिचान खुल्यो, सुर्खेतका धसेन्द्र पक्राउ

अनुसन्धानका लागि घटनास्थलमा पुगेको प्रहरी टोली ।

अनुसन्धानका लागि घटनास्थलमा पुगेको प्रहरी टोली ।

बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको भैंसी फार्ममा पाँच जनाको सामुहिक हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले फार्ममा काम गर्ने पाँच जना कामदारको हत्या भएको पुष्टि गरेका छन् । प्रहरीका अनुसार रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा पाँच जनाको हत्या भएको छ ।

कान्छीबजारका कृष्ण पुनको गंगादेवी पशु फार्ममा फर्ममा काम गर्ने सुर्खेतका धसेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने उनीहरुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । प्रहरीले हत्याको आशंकामा उनलाई पक्राउ गरेको छ ।

घटनास्थलमा भेला भएका स्थानीयहरु ।

हत्या आरोपी ३१ वर्षीय सिंजालीलाई प्रहरीले मंगलबार बिहान तिलोत्तमा–१० बाट पक्राउ गरेको पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिए । उनले एसएसपी राजकुमार बैदवारको नेतृत्वमा अनुसन्धान टोलीसमेत गठन गरिएको बताए । उनले भैसी फार्ममा कामदारबीच झगडा हुुँदा हत्या भएको भन्ने प्रारम्भीक अनुसन्धानले देखाएको बताए ।

मृतकहरुमा ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १८ वर्षीय पोषराज मुसहर, करण चौधरी र १७ वर्षीय आशीष चौधरी रहेका छन् । घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलवार १०:३४