सूचनाको शक्ति - The Power Of Information

        

अस्पतालका कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

धनगढी । अछाम जिल्लाको बयालपाटा अस्पतालका एक जना कर्मचारीले जागिरबाट हटाइएपछि आफ्नै शरीरमा आगो लगाएका छन् । अस्पतालले हटाएका ३३ जना कर्मचारी मध्येका साफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका हुन् ।

शरीरमा आगो लगाएर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको छ । अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आगो लगाएर गम्भीर घाइते भएका ति कर्मचारीलाई जिल्लामा उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत नेपालगन्ज पठाइएको जानकारी दिए ।

अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । अस्पतालले जागिरबाट निकालेपछि उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको स्थानीयले बताएका छन् । बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर केही कर्मचारी हटाएको जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार १४:०८