सूचनाको शक्ति - The Power Of Information

        

भेरीमा स्वाब परीक्षणको चाङ्ग

बाँके । बाँकेको भेरी अस्पतालमा रहेको कोरोना संक्रमण जाँच केन्द्रमा यतिबेला परीक्षणका लागि आएको स्वाब नमुनाको चाङ्ग लागेको छ । भेरी अस्पतालमा रहेको उक्त कोरोना जाँच केन्द्रले बाँकेको मात्र नभइ आसपासका जिल्लाबाट आउने कोरोना आशंकितका नमुनालाई समेत परीक्षण गर्ने गर्छ ।

दैनिक १०० जनाको कोरोना नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको भेरी अस्पतालको कोरोना ल्याबले स्रोतसाधन, परीक्षण किट तथा जनशक्ति अभावका कारण त्यो आँकडामा परीक्षण हुन सकिरहेको छैन । यस्तो अवस्थामा बाँकेको मात्र होइन अन्य जिल्लाबाट आएका कोरोनाको नमुनाको परीक्षण हुन सकिरहेको छैन ।

बाँकेको भेरी अस्पतालमा परीक्षण हुन आएका कोरोना परीक्षणका लागि ल्याइएको स्वाबको नमुनाको चाङ्ग लागिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । कोरोना संक्रमण जाँचका लागि बाहिरी जिल्लाबाट धेरै मात्रामा नमुना आउँदा बाँकेका नमुना परीक्षणसमेत प्रभावित बनेको छ ।

बाहिरी जिल्लाबाट दैनिकरुपमा धेरै स्याम्पल आउँदा भेरी अस्पताल पीसिआर युनिटलाई काम गर्न गाह्रो भएको र कामको अत्याधिक भारका कारण बाँके जिल्लाका स्याम्पलको परीक्षण समेत समयमै गर्न असहज भएको फोकल पर्सन श्रेष्ठको भनाई छ । उनका अनुसार कोरोना जाँचका लागि आएका सबै नमुनालाई जतिसक्दो छिटो पालो मिलाएर जाँच गर्ने काम भइरहेको छ ।

तर, पर्याप्त मात्रामा साधनस्रोत तथा अन्य स्वास्थ्य सामाग्री अभावका कारण परीक्षण कार्य तीव्र हुन नसकेको उनले बताए । भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाशबहादुर थापाका अनुसार स्वास्थ्य सुरक्षा अपनाएर यतिबेला भेरी अस्पतालको पीसिआर मेशिनबाट २४ सैं घण्टा दुई सिफ्टमा परीक्षण भइरहेको छ ।

उनले भने, ‘बाँके र बर्दियाका नमुनाको मात्र काम गर्न पाएको भए रिजल्ट दिन सहज हुन्थ्यो । तर, प्रदेश ५ र कर्णाली प्रदेशका जिल्लाबाट पनि धेरै मात्रामा नमुना परीक्षणका लागि नमुना आउँदा कार्यभार बढेको छ । छिटो रिपोर्ट दिन गाह्रो भइरहेको छ । परीक्षण गर्दा नमुना नेगेटिभ आएको खण्डमा परीक्षणको दर बढ्छ । तर, पोजेटिभ देखिएमा समय बढी लाग्छ ।’

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार १३:१३