बेपत्ता भएको ११ महिनामा घर फर्किएपछि आमा, दाजु र भाईसँग सामुहिक तस्वीर खिँचाउँदै राजु थापा ।
बाँके । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका तत्कालिन प्रमूख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहको सेटिङका कारण जिउँदो मान्छेलाई मरेको मुचुल्का बनाई अदालतमा पेश गरेको खुलेको छ । कोहलपुर नगरपालिका–२, वनखेत दीपनगरका १४ बर्षिय राजु थापा अपहरण घटनामा डिएसपी सिंहले अनुसन्धान र खोजतालसबिनै अपहरणकारी भनिएका सल्यानका गोविन्द पुनसँगको सेटिङमा जिउँदै मान्छेलाई मरेको मुचुल्का बनाएर अदालतमा पेश गरेको खुलेको छ ।
कोहलपुरमा पूर्वपश्चिम जाने सवारी साधनमा पानी बेच्ने काम गर्दै आएका १४ बर्षिय थापालाई पानी बेच्ने क्रममै सल्यानका पुनले औषधी सुघाएर बेहोस बनाई सोही बसमा उपहरणशैलीमा तुल्सीपुर पु¥याएको खुलासा भएको छ । गत बर्ष साउन ८ गते साँझ ७ बजे बसमा पानी बेच्दैं उनलाई बसभित्र बेहोस् गराइएको थियो । पानी बेच्ने क्रममा बसको अन्तिम सिटमा गएर त्यहाँ बसेका व्यक्ति (गोविन्द पुन)लाई पानी दिएका राजुलाई त्यसपछि बेहोस् बनाइएको थियो ।
राजुले भने, ‘मागेको मैले पानी दिए त्यहि अवस्थामा मलाई के सुघाए म एक्कासी बेहोस् भए, त्यसपछि केही थाहा भएन,’ अपहरणमा परेका भनिएका थापाले भने, ‘जब होस् आयो त्यतिबेला म तुलसीपुरमा थिए ।’ आफूसँग पानी बेचेर जम्मा भएको पैसा र मोबाइलसमेत नभएको बताउँदै ती बालकले भने, ‘उक्त पुनको टोलीले ११ महिनासम्म आफूलाई धेरै तनाव दियो ।’ घरको माइलो छोरा हराएपछि परिवार निकै तनाबमा थियो ।
आमा कल्पना थापाले गत साउन ९ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा हुलिया दिँदै छोराको खोजी दिन प्रहरीलाई अपिलसमेत गरिन् । तर, कोहलपुरका तत्कालिन डिएसपी सिंहले उनको कुरै सुनेनन् । उनी निराश भइन्, तर छोराको खोजीमा लागिरहिन् । भारतका विभिन्न शहरदेखि नेपालका दर्जनबढी जिल्लामा खोज्न पुगेकी कल्पनाले पाँच महिनापछि छोरा सल्यानको मुलपानीमा रहेको खबर आयो । उनी छोरालाई भेट्न त्यहाँ पुगिन्, तर छोरा भेटिएनन् ।
मंसिर ५ गते सल्यानबाट फर्किएपछि मंसिर ६ गते उनलाई इलाका प्रहरी कार्यालयले बोलायो । छोरा हराएको वियोगमा रहेकी आमा कल्पनासँग प्रहरीले बयान लियो । तर, विपक्षी पुनको बयान लिन कोहलपुर प्रहरीले चासो देखाएन । कल्पनाका अनुसार डिएसपी सिंह र मुद्दाका सईको मिलेमतोमा पुनविरूद्ध कल्पनाले जाहेरीसहित दिएको निवेदन प्रहरीले दर्ता गरेन । कोहलपुर प्रहरीले अनुसन्धान र खोजी नै नगरेर मुद्धा सल्यान अदालतमा पठायो ।
राजु थापा
फागुन १२ गते कल्पनालाई जबरजस्ती कोहलपुर प्रहरीले सल्यानको लुहामस्थित इलाका प्रहरी पु¥यायो । त्यहाँ उनलाई छोरा पीङ खेल्दा मुलपानीमा मारिएको बयानमा सहमत हुन बाध्य बनाइयो । तर, छोराको अत्तोपत्तो लागेन । मारिएको छोरा मारिएकै भए पनि न उनले छोराको लास पाइन्, न छोराको सास पाउने अवस्था देखियो । प्रहरीले सास र लास नदेखाएरै राजु मरिसकेको भनेर झुटो मुचुल्का गरेर सही गर्न बाध्य पारेको कल्पनाले बताइन् ।
यसपछि उनी झन् विछिप्त भइन् । ‘इलाका प्रहरी कोहलपुर र लुहाममाका प्रहरी प्रमुखको मिलेमतोमा गोविन्द पुनको झुटो बयानका आधारमा आफूलाई जिउँदै छोरो मारिएको मुचुल्कामा सहि गर्न बाध्य बनायो,’ कल्पनाले भनिन् । गोविन्द पुनसँग मिलेमतो गरी कोहलपुरका डिएसपी सिंहले निवेदन नै दर्ता नगर्नु, अनुसन्धान र खोजी नै नगरेरै जिउँदै मान्छेलाई मरेको मुचुल्का बनाएर अदालतमा पेश गरेर आफूमाथि प्रहरीले ठूलो अपराध गरेको कल्पनाले बताइन् ।
प्रहरीले जबरजस्ती मरेको मुचुल्का बनाएपछि ११ महिनादेखि वेपत्ता भएका राजु थापा यही जेठ २१ गते राती ११ः०० बजे घर आइपुगे । कल्पनाले भनिन्, ‘छोरा राजु जिउँदै फर्कियो । तर, प्रहरीले गोविन्द पुनसँगको मिलेमतोमा उनी मरिसकेको मुचुल्का बनाई अदालतमा पेश गरेको छ,’ आमा कल्पनाले भनिन्, ‘अदालतले पनि पुनलाई २४ दिनपछि धरौटीमा रिहा गरिसकेको छ ।’ मरेको भनिएको छोरा घरमा जिउँदै आएपछि कल्पनाका आँखामा हर्षका आशु बगिरहेका छन् ।
उनले ११ महिनासम्म गोविन्द पुन र प्रहरीले एकदमै तनाव र पीडा दिएको बताइन् । उनले भनिन्, ‘छोरो खोज्ने क्रममा आफ्नो लाखौं रूपैयाँ खर्च भएको छ, समय बर्बाद भएको छ, तत्काल आफूले न्यायका लागि क्षतिपूर्ति पाउनुपर्छ,’ राजुकी आमा कल्पनाले भनिन्, ‘यहाँ अपराधीसँग मिलेर प्रहरीले नै बाँच्न पाउने अधिकारलाई समेत ख्याल गरेन । जिउँदो व्यक्तिलाई मरेको भन्ने झुटो मुचुल्का बनाएर हामीलाई थप पीडा दियो, यसको क्षतिपूर्ति कसले दिने ?’
पीडितको निवेदन दर्ता नगरी पुनसँगको सेटिङमा लागेको आरोप खेपिरहेका कोहलपुरका तत्कालिन डिएसपी रमशेबहादुर सिंहले उक्त घटनाबारे बोल्न चाहेनन् । तत्कालिन कोहलपुरका डिएसपी सिंहले उक्त घटना आफूलाई थाहा नभएको बताए । यसअघि पनि डिएसपी सिंहविरूद्ध राष्ट्रिय मानवअधिकार आयोग लगायतका निकायले कारबाहीको माग गर्दै सरकार र गृह मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।
सत्यपाटी ।