सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यकर्मी र कर्मचारीमा पनि देखियो कोरोना

गुलरिया । बर्दियाको बढैयाताल गाउँपालिका–७ बकोतियाकी २५ वर्षीया स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त गाउँ पूर्णरुपले बन्द गरिएको छ । संक्रमित बाँसगढी नगरपालिका–७ डेउढाकलामा रहेको स्वास्थ्य चौकीका ल्याब असिस्टेण्ट हुन् ।

संक्रमितको परिवारका सदस्यको पिसिआर परीक्षण रिपोर्ट नआउँदासम्म गाउँ नै पूर्णरुपले बन्द रहने बढैयातालका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । बढैयाताल–६ मैनापोखरका ३६ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएपछि मैनापोखर गाउँ क्षेत्र तीनसम्मका लागि पूर्णरुपले बन्द गरिएको छ । संक्रमित पुरुष गाउँपालिकाका कर्मचारीमा भएकाले कार्यालय पनि बन्द गरिएको छ ।

दुवै संक्रमित समुदायमा सम्पर्क भएको पाइएकाले सम्पर्कमा रहेका व्यक्तिको पहिचान र अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन गाउँ पूर्णरुपले बन्द गरिएको अध्यक्ष श्रेष्ठले बताए । दुवै ठाउँका संक्रमण पुष्टि भएकाहरूको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक टे«सिङ भइरहेको स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले बताए ।

संक्रमित स्वास्थ्यकर्मी कार्यरत डेउढकलास्थित स्वास्थ्यचौकीलाई नै क्वारेन्टिन बनाएर उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मीलाई राखिएको बाँसगढीका उपप्रमुख सुष्मा चौधरीले बताए । यस्तै प्रमुख जिल्ला अधिकारीका सवारी चालकमा समेत संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बर्दिया पूर्णरुपले बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयलाई बन्द गरी १९ जनाको शनिबार नै पिसिआरका लागि स्वाब संकलन गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी बालकृष्ण अधिकारीले चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको जानकारी दिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार ०७:५०