सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ । पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३४४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमण हुनेहरुमध्ये २०९ जना पुरुष र चार जना महिला रहेका छन् । यस्तै हालसम्म भएका कुल संक्रमित मध्ये ३ हजार २१२ जना पुरुष र २३६ जना महिला रहेका छन् । नेपालमा अहिलेसम्म १३ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १०२ जना निको भएर घर फर्किएको पनि स्वास्थ्य मन्त्रालयको भनाइ छ । उनीहरुमध्ये १०० जना पुरुष र दुई जना महिला रहेका छन् । यससँगै कुल निको हुनेको संख्या ४६७ पुगेको छ । जसमध्ये ३९९ जना पुरुष र ६८ जना महिला रहेका छन् । त्यस्तै हालसम्म कोरोना भाइरसको आशंकामा कुल ९६ हजार २०५ पीसीआर परीक्षण भएको छ ।

त्यस्तै १ लाख ४५ हजार ४९ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७२८ पीसीआर परीक्षण भएको छ भने ७ हजार ६१४ आरडिटी परीक्षण भएको छ । यस्तै देशभर १ लाख ७० हजार ७३२ जना क्वारेन्टिनमा र २ हजार ९६८ जना संक्रमितहरु अइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर ७७ जिल्लामध्ये ७१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतवार २०:१२