बाँके । देशमा बन्दाबन्दी चलिरहेको छ । कोरोना संक्रमणको दर पनि उसैगरी बढिरहेको छ । चौकचौक र गौंडागौंडामा सुरक्षाकर्मीहरु परिचालन छन् । प्रत्येक चेक प्वाइन्टमा चेक गरिरहेका छन् । हुइँकिएर आउने सवारी साधनलाई ड्युटीमा रहेका प्रहरीले रोक्छन् । सवारी पास भए नभएको सोधपुछ गर्छन् र सोही अनुसार कारबाही अघि बढाउँछन् ।
सवारीसाधनका कागज पत्रमात्रै होइन, सवारी पास र विभिन्न निकायले जारी गरेको सिफारिस समेत ड्युटीमा खटिएका प्रहरीले ओल्टाइपल्टाई गरेर हेर्नुपर्छ । प्रहरीको हातमा पञ्जा र मुखमा मास्क होस् या नहोस् कागज पत्र ओल्टाइपल्टाई गरेर हेर्नैपर्छ । कोरोना संक्रमणको जोखिम कायमै रहँदा प्रहरीले सचेतना अपनाएकै हुन्छन् ।
तर पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षा उपकरण बिनै फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी कोरोनाको उच्च जोखिममै देखिन्छन् । सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन भनिरहँदा त्यही कुरा पालना गराउन उनीहरु सडकमा खटिन्छन् । यदि कुनै यसैगरी सम्पर्कका आएका मानिसमा कोरोना संक्रमण रहेछ भने उनीहरु पनि स्वाभाविकरुपमा जोखिममा पर्छन् । उनीहरुको दैनिक मानिससँग सम्पर्क भइरहेको छ ।
सडकमा खटिएका अधिकांश प्रहरीको एउटै गुनासो छ, ‘कोरोना रोक्न सरकारले हाम्रो सुरक्षाको ख्यालै नगरी खटाएको छ । दिनहुँ सयौं व्यक्तिसँग सम्पर्क हुन्छ । १० रुपैयाँको मास्क लगाएर हामी कसरी सुरक्षित हुने ?’ फिल्डमा खटिँदा अन्यको सम्पर्कमा रहने हुँदा उनीहरु उच्च जोखिममा मात्रै छैनन्, हालसम्म तीनवटै सुरक्षा निकायका ५१ सुरक्षाकर्मी संक्रमित भइसकेका छन् । हातमा पञ्जा र मुखमा मास्क भरमा खटिएका सुरक्षाकर्मीले कोरोना जोखिमको नियति भोगिरहेका छन् ।
बन्दाबन्दीको ७६ औं दिनसम्म आइपुग्दा कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिएका ३३ जना प्रहरी अधिकृत तथा जवान कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसमध्ये प्रदेश २ मा खटिएका मात्रै २२ जना छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता निरजबहादुर शाहीका अनुसार संक्रमितमध्ये १४ जना प्रहरी निको भएर होम क्वारेन्टाइनमा छन् । बाँकीको विभिन्न अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
प्रदेश २ मा प्रहरी निरीक्षकसहित २२ जनामा संक्रमण देखिएको र त्यसमध्ये सात जना निको भएर ब्यारेकमै आराम गरिरहेका शाहीले बताए । उनका अनुसार २ नम्बर प्रदेशसभामा खटिएका प्रहरीका पाँच मर्यादापालकसमेत संक्रमित छन् । कोरोना संक्रमणको विपदका बेला नेपाली सेना र सशस्त्र प्रहरी बल मुख्य जिम्मेवारीमा छ । बन्दाबन्दीको कार्यान्वायनदेखि सीमा क्षेत्रको निगरानी र क्वारेन्टाइन व्यवस्थापनसम्म उनीहरुको जिम्मेवारीमा छ ।
आफ्नो जिम्मेवारीलाई मध्यनजर गर्दै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल आफ्ना सम्पूर्ण ड्यूटीलाई उच्च सतर्कतामा राखेर यसविरुद्धको अभियानमा सक्रिय छ । सरकारले लागू गरेको बन्दाबन्दीमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै तीनवटै सुरक्षा निकायले स्थानीयस्तरमा समेत जनचेतनामा अभिवृद्वि गर्न माईकिङ लगायत विभिन्न प्रयासहरु गरिरहेको छ ।
त्यस्तै बन्दाबन्दीकै अवधिमा सीमा सुरक्षादेखि क्वारेन्टाइनको मुख्य जिम्मा पाएको नेपाली सेनाका १३ जना संक्रमित भएको सैनिक मुख्यालयले जनाएको छ । नेपालभित्र सात जनामात्र संक्रमित भएको सेनाका सहाकरथी तथा सैन्य प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । जसमा छ जना गण्डकी अस्पताल र एक जना धनुषामा संक्रमित रहेको पाण्डेको भनाइ छ । यस्तै मिसनमा गएका नेपाली सेनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता पाण्डेका अनुसार साउथ सुडान गएका तीन जना, कारमा दुई जना र मालि मिसन गएका दुई नेपाली सेनाका कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिएकामध्ये चार जना निको भइसकेको पाण्डेले बताए । यस्तै सीमा सुरक्षा र बन्दाबन्दी कार्यान्वयनमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पाँच जना सशस्त्र कर्मचारीमा कोरोना देखिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।
सशस्त्र प्रहरीका डीआइजी तथा प्रवक्ता प्रविणकुमार श्रेष्ठका अनुसार कपिलवस्तुमा दुईजना, काठमाडौँमा एकजना, तेह्रथुममा एकजना, झापामा एकजनामा कोरोना संक्रमण देखिएको हो । जसमा तेह्रथुममा देखिएका कर्मचारी निको भएर फर्किसकेका छन् । घरबाट ड्युटी गर्नेलाई घरपायक पर्ने स्थान मिलाएको डीआइजी श्रेष्ठले बताए । यसरी ड्युटी गर्दा ब्यारेकमा भएका र घरबाट आउनेमा संक्रमण भइहाले नफैलिने आशंकाले यस्तो गरिएको उनको भनाइ छ ।
सत्यपाटी ।