सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट नेपाल बाहिर १२५ नेपालीको मृत्यु

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण हालसम्म विदेशमा १२५ नेपालीको मृत्यु भएको छ । तर नेपालीहरुको मृत्यु र संक्रमणको दरमा भने उल्लेख्यरुपमा कमी आएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५९० जना संक्रमण मुक्त भएका छन । उनका अनुसार संक्रमण दर गतसाता भन्दा ७५ प्रतिशतले कमी हो । सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरि ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् ।

समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् । १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संयोजक डा. सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार ४५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नेपालमा १३ जनाको मृत्यु भएको छ । नेपाल र विदेशमा गरी कूल मृतकको संख्या १३८ रहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतवार १४:५१