सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि देशभरका मालपोत कार्यालय खुल्दै

काठमाडौं । देशभरका सबै मालपोत कार्यालय आज आइतबारदेखि खुल्दैछन् । सरकारको निर्णय अनुसार मालपोत कार्यालयहरु खुल्न लागेको हुन् । लकडाउनसँगै बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।

बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो । पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम तथा आवश्यक सेवा सञ्चालन गर्न माग हुँदै आएको थियो । सोही मागअनुसार आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्यरुपमा कार्यालयमा उपस्थित भई अन्य कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ सेवा सञ्चालनमा ल्याउन विभागले भनेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतवार ०७:४८