सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितको संख्या ३२३५ पुग्यो

काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३२३५ पुगेको छ । उनले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए ।

योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् । यसैबीच कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका–३ निवासी ५८ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको नियमित प्रेस ब्रिफिङमा देवकोटाले औपचारिक पुष्टि गरे । उनको जेठ २१ गते मृत्यु भएको थियो ।

कर्णाली प्रवेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीका अनुसार उनी दमरोगी रहेका थिए । उनी सोही रोगको सुर्खेतमा उपचार गराएर जेठ १९ गते डोल्पा फर्किएका थिए । त्यसपछि होम क्वारेन्टाइनमा रहेका उनको २१ गते मृत्यु हुन पुगेको र मृत्यु पश्चात जेठ २२ गते स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएकोमा कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

यसैगरी सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मिर्गौलाकी बिरामी धनगढी ४ की उनको शुक्रबार मृत्यु भएको थियो । डायलासिसकै क्रममा अस्पतालमा मृत्युपछि उनमा कोरोना संक्रमणको आशंकामा पीसीआर जाँच गर्दा नतिजा पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसहित नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार १६:५९