सूचनाको शक्ति - The Power Of Information

        

आजबाट खुल्यो नेपालगन्ज

बाँके । नेपालगन्ज उद्योग बाणिज्य संघले आन्दोलनको घोषणा गरेकै दिन स्थानीय प्रशासनले बार अनुसार तालिका बनाएर पसलहरु खोल्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार, सर्वदलीय, सर्वपक्षीय बैठकको सुझावलाई ध्यानमा दिँदै प्रशासनले हरेक दिन ११ देखि तीन बजेसम्म फरक–फरक दिन फरक–फरक पसल खुल्ने निर्णय गरेको हो ।

प्रशासनले निकालेको सूचना अनुसार आइतबार र बुधबार मोबाइल र इलेक्ट्रोनिक्स, पुस्तक, फोटो स्टुडियो, छापाखाना, फर्निचर, फर्निसिङ र भाँडा पसल सञ्चालनमा आउने छन् । सोमबार र बिहीबार कपडा, फैन्सी, जुत्ता, चप्पल, कस्मेटिक, चश्मा, गरगहनाका पसल सञ्चालन हुनेछन् । मंगलबार र शुक्रबार अटोमोबाल्स, कोल्ड स्टोर, जुस, मोटरसाइकल, साइकल पसल र अन्य पसलहरु खुल्ला हुनेछन् ।

औषधी, दैनिक उपभोग्य सामाग्री, निर्माण सामाग्री, मलखाद र बिउबिजन प्रत्येक दिन खुल्ने प्रशासनले जनाएको छ । प्रशासनको पास चाहिने वा सम्बन्धित निकायको पास चाहिने सवारी साधनको वर्गीकरण पनि गरिएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघले ज्ञापनपत्र बुझाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेपछि प्रशासन केही लचिलो भएको हो ।

प्रशासनले बैंकहरु सार्वजनिक बिदाबाहेक सबै दिन खुल्ला रहने, निर्माण कार्यमा संलग्न मजदुरहरुले साइकलबाट आवतजावत गर्ने, अत्यावश्यक कामका लागि बाहेक इरिक्सा, अटो र मोटरसाइकलको प्रयोगलाई नियन्त्रण गर्ने, अत्यावश्यक काममा घर बाहिर निस्किदा कोभिड १९ को संक्रमणबाट जोगिन कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने तथा मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने, कालोबजारी नियन्त्रण गर्न सम्बद्ध सबै निकायबाट बजार अनुगमन कार्यलाई तिब्रता दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार १०:३६