सूचनाको शक्ति - The Power Of Information

        

सरकारको निर्णयविरुद्ध नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा आन्दोलनको घोषणा

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघले सरकारले कर तिर्न थप गरेको समय पनि अपर्याप्त भएको जनाउँदै आन्दोलनको घोषणा गरेको छ । बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएर संघले आफ्नो मागका बारेमा जानकारी गराउँदै आन्दोलनको घोषणा गरेको हो ।

जेठ २५ गतेभित्र कर तिर्नुपर्ने पुरानो निर्णय खारेज गरी अर्थमन्त्रालयले कर तिर्ने समय असार ७ गते थप गरेको छ । उक्त निर्णय खारेजी र निजी क्षेत्रलाई तत्काल सहुलियत घोषणा गर्न माग गर्दै संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिए ।

अध्यक्ष मन्सुरीका अनुसार संघले आफ्ना माग कार्यान्वयन गराउन घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्तरगत भोली बिहिवार बिहान ९ः०० बजेदेखि बिहान १०ः०० बजेसम्म उद्योगी, व्यवसायीहरुले कर तिर्न नसक्ने ब्यहोरासहितका प्लेकार्ड राखेर आ–आफ्नो प्रतिष्ठान वा घरबाटै बिरोध प्रदर्शन गर्ने भएका छन् ।

प्रदर्शनपछि उद्योगी, व्यवसायीसँग छलफल गरी आवश्यक रणनीति तय गर्ने निर्णय भएको उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीले जानकारी दिए । उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकको मौद्रिक तथा वित्तिय नीतिमामार्फत बैंक ब्याज मिन्हा, सहुलियत तथा छुट सम्वोधन गर्न माग गरेको पनि अध्यक्ष मन्सुरीले जानकारी दिए ।

बन्दाबन्दीको अवधिभरलाई शुन्य समय मानेर तिर्नुपर्ने सम्पूर्ण कर बन्दाबन्दी खुलेको कम्तीमा तीन महिनापछि तिर्ने व्यवस्था गर्नुपर्ने व्यवयासीहरुको माग रहेको उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले बताए । उनका अनुसार उद्योग, व्यवसाय सञ्चालन नहुँदा आयआर्जन ठप्प भएको समयमा असार ७ गतेभित्र तोकेको मितिमा कर बुझाउन उद्योगी, व्यवसायी पूर्णतः असमर्थ छन् ।

अहिलेकै परिस्थितिमा कुनै पनि हालतमा कर दाखिला गर्न नसकिने बताउँदै नेपालगन्ज उद्योग वाणिज्य संघले अर्थमन्त्रालय, आन्तरिक राजश्व विभागको कर विवरण तथा कर बुझाउने सम्बन्धी सार्वजानिक सूचनाप्रति गम्भीर ध्यानार्षण भएको बताउँदै उक्त निर्णय तत्काल फिर्ता लिन नेपाल सरकारसँग मागसमेत गरेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार १८:५४