जाजरकोट । पाठ्यपुस्तक हातमा लिएर दैनिक विद्यालय जाने यहाँका अधिकांश बालबालिका बन्दाबन्दीका कारण घरायसी काममा व्यस्त भएका छन् । नाम्लो, डोको, हँसियाको साथमा घाँस, दाउरा सङ्कलन गरी अभिभावकलाई सघाउने काममा यहाँका बालबालिका व्यस्त रहेको पाइएको हो ।
देशका अन्य सुविधासम्पन्न ठाउँमा इमेल, इन्टरनेट, टिभी र रेडियो सुनेर दिन कटाउने बालबालिका दुर्गम तथा ग्रामीण क्षेत्रमा भने घरायसी काममा जोतिनुपरेको छ । बिहानै अभिभावकसँग काममा खटिने र बेलुकी घरमा पुग्ने गरेको जुनिचाँदे गाउँपालिका–१ की राधिका कार्कीले बताए । आजभोलि विद्यालय बन्द छ, त्यसैले यहाँका बालबालिका गाई, गोरु र भैँसीका लागि घास सङ्कलन गर्नेदेखि सल्ली कुसुमजम्मा गरी मल बनाउने काममा लागेका छन् ।
‘आजभोलि विद्यालय बन्द हुँदा दिनभरि काम गरेर समय बित्छ । बाबाआमालाई विभिन्न काममा सघाउँछौँ, विद्यालयले हाम्रो परीक्षा गराएको छैन,’ उनले भने, ‘स्कूलभरि क्वारेन्टिन बनाएर भारतबाट आएका मान्छे बसेका छन् । अहिले विद्यालय प्रहरी, जनप्रतिनिधिको घेराबन्दीमा परेको छ ।’ बिहानै बाख्रा चराउन जङ्गलमा जाने र उत्तैबाट भैँसीलाई घाँस सङ्कलन गरेर ल्याउने काम गरेर दिन बित्ने गरेको भैरव माध्यमिक विद्यालय मजकोटका कक्षा ९ मा अध्ययनरत छात्रा सीता कार्कीको भनाइ छ ।
‘पहिले विद्यालयमा पढेर दिन बित्थ्यो, अहिले पशुचौपायसँग दिन बित्छ,’ उनले भने । मकै गोडमेलदेखि घरमा खाना बनाउनेसम्मका काममा अधिकांश विद्यार्थीले अभिभाभावकलाई सघाइरहेको उनीहरु बताउँछन् । नलगाड नगरपालिका–८ की लक्ष्मी केसी आजभोलि बाख्रा जङ्गल लगेर चराउने र बेलुकी घरमा ल्याउने गर्दै दिन बितेको बताउँछिन् । फुर्सदको समयमा रेडियो सुन्ने गरेको बताउने लक्ष्मीले अन्य ठाउँमा टिभी, अनलाइनमा पढाइ भइरहेको सुन्दा आफूदेखि रिस उठेर आउने गरेको प्रतिक्रिया दिइन् ।
उनले भनिन्, ‘फोन, टिभी र इन्टरनेटले काम नगर्ने ठाउँमा जन्मिएर भाग्यले ठगेछ । मनमा जति पढ्ने इच्छा भए पनि के गर्नु ? स्रोतसाधन केही छैन । मोबाइल चार्ज गर्न त सोलार खोज्दै दिनभरि समय खर्चिनुपर्छ ।’ उनीहरु त प्रतिनिधिमूलक पात्र मात्र हो, जिल्लाका सात स्थानीय तहका बालबालिका बन्दाबन्दी भएको समयदेखि घरायसी काममा जोतिनुपरेको छ । अभिभावकले जे काम गर्छन्, सोही अनुपातमा बालबालिकाले घरायसी काम गर्न बाध्य भएका छन् । विद्यार्थीले परीक्षासमेत दिन नपाएका कारण अन्योल भएको समेत उनीहरु बताउँछन् ।
बन्दाबन्दीदेखि नै किताबसँग भेट नभएको दावी उनीहरुको छ । गाउँमा रेडियोकोे समेत पहुँच नहुँदा कहाँ के भएको छ सजिलै थाहा नहुने उनीहरुको भनाइ छ । स्थानीय गाउँलेहरुले बजारबाट फर्किएपछि त्यहाँ सुनेको कुरा गाउँमा आएर जानकारी दिनु नै दुर्गम ठाउँमा सूचना वा सन्देश हो । बजार बन्द भएका कारण गाउँलेहरु सजिलै जान र आउनसक्ने अवस्था नहुँदा सामान्य जानकारी पाउन दुईदेखि तीन दिनसम्म पर्खनुपर्ने अवस्था छ । नयाँ पाठ्यपुस्तक विद्यार्थीको हातमा परेको भए स्वअध्ययन गरेर ज्ञान आर्जन गर्न सकिने यहाँका विद्यार्थी बताउँछन् ।
सदरमुकाम खलङ्गा र अन्य स्थानीय तह नजिकको ठाउँमा मात्र इन्टरनेट सेवा उपलब्ध छ । विद्यालयमा जोडिएका इन्टरनेटबाट जानकारी लिने विद्यार्थी त्यहाँ क्वारेन्टिन निर्माणपछि कोरोनाको त्रासले जान नसकेको बताउँछन् । आधारभूत र मावि तह मात्र होइन, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई समेत हैरान हुँदै आएका छन् । मध्यपश्चिम विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गरे पनि त्यसको मार जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसमा पढ्ने विद्यार्थीमा परेको छ ।
सदरमुकामबाहेक गाउँमा इन्टरनेटले काम नगर्दा उच्च शिक्षा पढ्ने विद्यार्थीको दैनिक कक्षा छुट्दै आएको छ । अग्लोडाडाँमा गएर डाटाबाट अनलाइन कक्षा लिन खोजे पनि सो कार्य महङ्गा हुँदा अनलाइन कक्षामा सहभागी हुन नसकेको विद्यार्थीको भनाइ छ । क्याम्पसले अनलाइनबाट कक्षा लिन नसक्ने परीक्षामा सहभागी हुन नपाउने बताएपछि विद्यार्थी थप मारमा परेका छन् । जाजरकोटका ७० हजारभन्दा बढी बालबालिका घरायसी काममा अभिभावकसँग काममा जोतिनुपरेको छ ।
जाजरकोट मात्र होइन, छिमेकी जिल्ला डोल्पा, रुकुमपश्चिम र सल्यान जिल्लाका अधिकांश विद्यार्थीको समय अहिले घरायसी काम गरेर बितेका छन् । कन्दाबन्दीले दुई प्रकारका शिक्षाको विकास गरेको अभिभावक बताउँछन् । पहुँच र प्रविधिसँग नजिक भएका विद्यार्थी दैनिक बढिरहेको छन् भने दुर्गमका विद्यार्थी घरायसी काममा व्यस्त हुँदा शैक्षिक उपलब्धिमा घाटा लागेको छ । कसैले घाँस दाउरा, पशु चौपायसँग दिन बिताएका छन् भने कसैले सधैँ इन्टरनेटको माध्यमले ज्ञान आर्जन गरिरहेका छन् । रासस
सत्यपाटी ।