सूचनाको शक्ति - The Power Of Information

        

पूर्वमन्त्री बोहराले भने, ‘सरकारले दियो व्यवसायीलाई धम्की’

काठमाडौं । पूर्वमन्त्री एवं राप्रपा नेता दीपक बोहराले बन्दाबन्दीका बेला जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी सूचनालाई अमानवीय र गैरजिम्मेवारी भएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता बोहराले सरकारको उक्त सूचनालाई बाध्यात्मक र धम्कीपूर्ण भनेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘लकडाउनका कारण व्यवसाय ७२ दिनदेखि ठप्प छ । तर सरकारले जेठ २५ भित्र कर तिर्न बाध्यात्मक र धम्कीपूर्ण सूचना दिएको छ । सरकारको कदम अमानवीय, गैरजिम्मेवार र व्यवायको हित विपरीत छ । लकडाउनबाट शिथिल अर्थतन्त्रमा सुधार गर्न, रोजगारी सिर्जना गर्न सरकार व्यवसायीमैत्री हुनैपर्छ, सच्याऔ ।’

यसअघि अर्थ मन्त्रालयले बुधबार नै एक सूचना प्रकाशित गर्दै जेठ २५ भित्र कर तिर्न र नतिरे जरिवाना लाग्ने सूचना सार्वजनिक गरेपछि पूर्वमन्त्री बोहराको यस्तो प्रतिक्रिया सार्वजनीक भएको हो । सरकारले छुट दिएको समयसम्म मात्रै जरिवाना वा पेनाल्टी नलाग्ने तर, जेठ २५ गते बुझाउनुपर्ने सम्पूर्ण कर नतिरे जरिवाना लाग्ने अर्थ मन्त्रालयले बताएको छ ।

‘२५ गतेसम्म जो–जसले जे जति कर बझाउनुहुन्छ, त्यसमा कुनै किसिमको जरिवाना लाग्ने कुरा भएन । तर, सरकारले तोकेको सीमा नाघ्ने वित्तिकै जरिवाना लाग्नेछ,’ अर्थ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । कोरोना संक्रमण बढिरहेका बेला भएको बन्दाबन्दीले उद्योग, व्यवसाय ठप्प भएकाले उद्योगी, व्यवसायी घर न घाटको हुने अवस्था सिर्जना भएको छ ।

https://www.facebook.com/permalink.php?story_fbid=561449594805586&id=100028216500959 

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार ११:४७