दाङ । नेपाल दलित संघ महाधिवेशन प्रतिनिधि एवं नेपाली काँग्रेसकी नेतृ लिला नेपालीले पश्चिम रूकुमको चौरजहारीमा हत्या गरिएका नवराज विकसहित ६ जनाको हत्यामा संलग्नलाई हदैसम्म कारबाहीको माग गरेकी छन् । उनले हत्यामा संलग्नहरुलाई जन्मकैदको सजाय दिनुपर्ने बताएकी छन् । जाजरकोट रानागाउँका नवराज विकसहित उनका साथीहरुको हत्या गरिएको घटनाले मुलुक नै स्तब्ध भएको बताइन् ।
‘तल्लो जातले उपल्लो जातसँग प्रेम गर्न नहुने र बिवाह गर्न नपाइने कुनै धार्मिक ग्रन्थमा लेखिएको छैन, तर पनि सदियौंदेखि बिभेद हुँदै आएको छ । हाम्रो सनातन हिन्दु धर्मले पनि कहिँकतै बिभेद गरेको छैन । समाजका ठूलाबडाले बनाएको नियमका कारण नवराज जस्ता यवाहरुले अकालमै ज्यान गुमाउनुपरेको छ,’ नेपालीले समाजमा जरो गाडी बसेको जातिय विभेद अन्त्य हुनुपर्ने बताउँदै उनले भनिन् ।
जाजरकोटका नवराज र रूकुमकी सुष्मा मल्लबीचको प्रेमलाई बिवाहमा परिणत गर्ने सल्लाह बमोजिम नवराज सुष्मालाई लिन आफ्ना साथीहरूसँग रूकुम पुगेको समयमा सिङ्गो गाउँ नै उनीहरुमाथि जाइलाग्नु र नवराज लगायत उनका साथीहरुको हत्या गर्नु मानवता बिरोधी कार्य भएको भन्दै हत्यामा संलग्नलाई जन्मकैदको सजाय दिनुपर्ने उनले बताइन् । ‘जातीयताकै आधारमा हत्या गरिनुले पुनः दलितहरूलाई झस्काएको छ,’ नेपालीले भनिन् ।
उनले यस हत्याकाण्डको निष्पक्ष छानविन र दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताइन् । ‘अन्तरजातीय प्रेम, बिवाह गरेकै कारण अब जातिय विभेदकै आधारमा कोही पनि मर्नु नपरोस्, नवराजको हत्याले एक दलित आमाको कोख रित्तिएको छ, यसको सजाय हत्यामा संलग्नहरुले पाउनुपर्छ,’ नेपालीले भनिन् । पश्चिम रुकुमको चौरजहारीमा भएको हत्याकाण्डको अहिले देशब्यापीरुपमा विरोध भइरहेको छ । दलित संघर्ष समिति लगायतका संघ/संस्थाहरुले हत्याकाण्डको बिरोध गर्दै हत्यामा संलग्नहरुमाथि कडा कारबाहीको माग गरिरहेका छन् ।
सत्यपाटी ।