सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमितलाई अस्पतालले फिर्ता गरेपछि…

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाका पाँच जना कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले भर्ना नगरी फिर्ता गरिदिएको छ । मंगलबार राति अस्पताल पुर्याइएका पाँच जनालाई आइसोलेसन वार्ड अभाव भएको भन्दै अस्पतालले भर्ना नगरेको गौरीगंगा नगरपालिकाका प्रमुख भिम देउवाले बताए ।

अस्पतालले भर्ना नगरेपछि संक्रमितहरुलाई मन्दिरको हलमा राखिएको छ । ‘अस्पतालले फिर्ता गरेपछि हामीले उहाँहरुलाई मन्दिरको हलमा व्यवस्थापन गरेका छौँ,’ नगर प्रमुख देउवाले भने, ‘अब के गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।’ मंगलबार नै गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टाइनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुमध्ये २ जनालाई स्वास्थ्यमा समस्या देखिएको र अन्य तीन जना सामान्य रहेको देउवाले बताए । कोरोना संक्रमण पुष्टि भइसक्दा पनि अस्पतालले भर्ना नलिएपछि समस्यामा परेको उनी बताउँछन् । स्थानीय तहले नै आइसोलेसन वार्ड बनाएर उनीहरुलाई राख्ने तयारीमा जुटेको मेयर देउवाले बताए । सेती प्रादेशिक अस्पतालले भने शय्या अभावका कारण संक्रमितलाई राख्न नसकेको बताएको छ ।

‘अस्पतालमा २४ शय्याको आइसोलेसन छ । हामीकहाँ २५ जना बिरामी भइसके । त्यसैले थप पाँच जनालाई राख्न नसकेर फर्काएका हौँ,’ अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भने । उनले स्थानीय तहले अस्पतालसँग समन्वय नगरेर संक्रमितलाई ल्याएको बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार ०८:५५