सूचनाको शक्ति - The Power Of Information

        

दाङमा वडाध्यक्ष सङ्क्रमित, वडा सिल

दाङ । दाङको बंगलाचुली गाँउपालिका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि सो वडाको झेल्नेटा र मुर्कुटी बजार क्षेत्र सिल गरिएको छ । बंगलाचुली गाउँपालिकाले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी वडाको झेल्नेटा र मुर्कुटी क्षेत्रलाई अनिश्चितकालको लागि सिल गरिएको हो ।

सुधा माध्यमिक विद्यालय झेल्टेनामा रहेको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका व्यक्तिसहित पाँच जनाको पीसीआर जाँच गर्दा उनमा कोरोना पोजेटिभ देखिएपछि उच्च जोखिम क्षेत्रमा अर्को सूचना नआए सम्मको लागि सिल गरिएको छ । सूचनामा अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन हुन अनुरोध गरिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परीक्षणमा ५४ वर्षीय वडाध्यक्षमा कोरोना पोजेटिभ देखिएको थियो । भारतबाट आउने वडावासीहरुको उद्धारमा खटिएका उनमा कोरोना पुष्टि भएपछि अति जोखिम क्षेत्रमा सिल गरिएको हो । यसैबीच कोरोना सङक्रमितको संख्या बढ्न थालेपछि बिरामीलाई उपचार गर्नको लागि पालिकास्तरमा आइसोलेसन निर्माण गरि उपचार गर्ने व्यवस्था मिलाउन थालिएको छ ।

अहिले दाङको बेलझुन्डीमा रहेको कोरोना अस्पतालमा दाङ सहित अन्य जिल्लाका गरि ५२ जनाको उपचार भइरहेको छ । दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार बेलझुण्डी अस्पतालमा उपचार गर्ने ठाउँको अभाव रहेका कारण थप विरामी भर्ना गर्ने अवस्था छैन । ‘अहिले सबै भरिएको छ, नयाँ सङक्रमितलाई पालिका स्तरमा आइसोलेसन बनाएर व्यवस्थापन गर्न भनेका छौं,’ चन्दले भने ।

पालिकाले पनि आइसोलेसन वार्ड बनाउन थालेका छन् । राप्ती गाउँपालिकामा आज सङक्रमित देखिएकोलाई सोही पालिकामा उपचार गर्न मिल्नेगरी आइसियुलेसन निर्माण गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिए । दाङमा कोरोना अस्पतालमा बेड अभाव भएपछि मंगलबार संक्रमण पुष्टि भएका आठ जनामध्ये दुई जनालाई उपचारको लागि नेपालगन्ज लगिएको छ ।

बाँकी ६ जनालाई आइसोलेसनमा भर्ना गर्न सकिएको छैन । राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा रहेका दुई जना कोरोना संक्रमितलाई अबेर मात्रै नेपालगन्ज लगिएको हो । बंगलाचुली गाउँपालिकाका ६ जना संक्रमितलाई झुलीडाँडा क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखा संयोजक भगत केसीले जानकारी दिए । दाङमा कोरोना विशेष अस्पताल छ । अहिलेसम्म दाङमा ५१ जना संक्रमित पुगेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार ०८:३२