सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा कोरोना संक्रमण नियन्त्रणमा

बाँके । भारतबाट फर्किएका मध्येबाट एक्कासि ठूलो सङ्ख्यामा कोरोना भाइरसका सङ्क्रमित फेला परेपछि कोरोना हटस्पट बनेको नरैनापुर गाउँपालिकाको अवस्था अहिले नियन्त्रणमा आएको छ । भारतको मुम्बईबाट फर्किएकाहरूलाई क्वारेन्टाइनमा राखिए पनि अव्यवस्थित क्वारेन्टाइनका कारण धेरैलाई सङ्क्रमण फैलिएको थियो । त्यहाँ एकैपटक धेरै जना सङ्क्रमित भेटिएपछि व्यवस्थापनको कमजोरीका कारण समुदायमा सङ्क्रमण फैलिने ठूलो सम्भावना देखिएको थियो ।

पछिल्लो समय चालिएका सकारात्मक कदमहरूका कारण ठुलो सङ्ख्यामा सङ्क्रमण थप फैलिन नपाएको र क्वारेन्टाइनको व्यवस्थापनमा पनि सुधार हुँदै गएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार त्यहाँका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका ९७८ जना रहेकोमा कोरोना परीक्षण गरेर ७०९ जनालाई क्वारेन्टाइनबाट घर पठाइएको र अहिले पाँच वटा क्वारेन्टाइनमा १५३ जना मात्र रहेका छन् ।

उनीहरूमध्ये पनि धेरै जना मङ्गलबार बेलुकासम्म घर फर्किने उनले बताए । सङ्क्रमित भएका तीन जना निको भएर घर फर्किसकेपछि अहिले नरैनापुरको अवस्था सामान्य बनेको र कोरोनाको त्रास पनि बिस्तारै घट्दै गएको आफूले स्थलगत अनुगमनको क्रममा पाएको फोकल पर्सन श्रेष्ठले बताए । सरकारले यस क्षेत्रका लागि अब जमुनाहा नाकाबाट मात्रै भारतबाट आउनेहरूलाई भित्र्याउन पाइने निर्णय गरेपछि नरैनापुरको सिमानाबाट भित्रिने खतरा पनि समाप्त भएकोले सो क्षेत्र सुरक्षित बन्दै गएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको अवस्था नियन्त्रणबाहिर गएपछि हरेस खाएर हात उठाएका गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले नयाँ प्रमुख जिल्ला अधिकारी आएपछि नरैनापुर जोगिएको जनाउँदै अब सबै कुरा नियन्त्रणमा आएको बताए । उनले क्वारेन्टाइनमा रहेका अधिकांश नगेटिभ पाइएपछि घर फर्किएको र आइसोलसेनमा रहेकाहरूसमेत निको भएर घर फर्किन थालेकोले स्थानीय बासिन्दाको पनि मनोबल उच्च भएको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नरैनापुरलगायत जिल्लाका सबै स्थानमा रहेका क्वारेन्टाइन र आइसोलेसनमा सुधार ल्याउने कार्य शुरु गरिएपछि अवस्था नियन्त्रणमा आउँदै गएको बताए । उनले भारतबाट फर्किनेहरूलाई सीमानामा छिर्नेबित्तिकै व्यवस्थित तरिकाले सिधै क्यारेन्टाइनमा पुरयाउने व्यवस्था मिलाइरहेको जनाउँदै त्यतिमात्रै पनि राम्ररी गर्न सकियो भने कोरोना नियन्त्रण गर्न कुनै समस्या नहुने बताए ।

स्थानीय प्रशासनले जिल्लाका सबै क्वारेन्टाइनमा रहेका सबैको पीसीआर परिक्षण गर्ने व्यवस्थासमेत मिलाउने प्रयास गरिरहेको प्रजिअ कुरुम्बाङको भनाइ छ । बाँकेमा कोरोना सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या मङ्गलबारसम्म २१३ पुगेको छ । मङ्गलबार जिल्लाको राप्तीसोनारी गाउँपालिका–७ मा १४ जना, नरैनापुर गाउँपालिका–६ मा २ जना र खजुरा–१ मा एक जना गरी १७ जना सङ्क्रमित थपिएका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार ०८:२७