शुक्र माध्यमिक विद्यालय खजुरामा रहेको क्वारेन्टाइनमा शिशुसहित सुसारे राखेर बसेकी थिइन् एक महिला । जो कैलालीबाट घर फर्केकी थिइन् । उनी घरबाट खाना कतिबेला आउँला र खाउँला भनेर बसेकी थिइन् । यो केहीदिन पहिलेको कुरा हो । बाँकेको खजुरा गाउँपालिका साक्षर घोषणा भएको क्षेत्र हो । खजुरा गाउँपालिकामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९६.९९ प्रतिशत मानिस साक्षर छन भन्ने तथ्यांक छ । त्यसैले खजुरा गाउँपालिकालाई साक्षर घोषणा गरिएको होला ।
बाँकेको खजुरा क्षेत्र अनि त्यहाँको चर्चा अक्सर मिडियामा आइ नै रहन्छ । मलाई यतिबेला उतिबेलाको खजुरा सम्मेलनमा यहाँको वृहत्तर विकासका लागि प्रस्तुत गरिएका दस्तावेज सम्झन मन लाग्यो, साँच्चिकै लोभ लाग्दा थिए र छन् अझै । ब्यवहारमा कति लागु भए त्यो विषय त्यहाँका स्थानीयबासीन्दाहरु नै जानुन् । मैले खजुरालाई चिनेको विद्यालय स्तरमा फुटबल खेल्न जाँदा हो । त्यो भनेको २०५० सालतिरबाट हो ।
उतिबेला मैले खेलको खजुरा चिनें, त्यसको झण्डै १०/१२ बर्षपछि मैले २०६२/०६३ को जनआन्दोलनको सेरोफेरोमा खजुरालाई राजनीतिकरुपमा चिन्ने अवसर पाएँ, संयोग खजुरा क्षेत्रकै सेतु विक आन्दोलनका बेला उतिबेलाको ज्ञानेन्द्र चोकमा बेहोस् भएको आफ्नै आँखा अगाडी हिजै जस्तो लाग्छ, उनले शाहदत प्राप्त गरिन्, अहिले जहाँ उनकै नाममा चौक छ । आन्दोलनका दौरान तत्कालिन माओवादीका भूमिगत नेताहरुसँग उठबस पनि हुन थाल्यो ।
२०५० ताका मेरो बाल्यकालमा खेल खेल्ने ठाउँ भनेर जुन छाप थियो अहिले २०७७ सालमा झण्डै २६ बर्षपछि फेरी खेल खेल्ने क्षेत्रकै रुपमा देखें खजुरा क्षेत्रलाई । तर उतिबेला भौतिकरुपमा खेल खेलिने छाप परेको थियो, यतिबेला राजनीतिको खेल खेल्ने भन्ने परेको छ । एकपटक खजुरा क्षेत्रबाट संघीय र प्रदेश तहमा प्रतिनिधित्व गर्ने माननीयको फेहरिस्त पनि हेरौं त ।
मलाई ब्यक्तिगतरुपमा त्यहाँको राजनीतिको खेलले न त कुनै हानी छ न त कुनै फाइदा नै हुने हो, फाइदा छैन भने बेफाइदाको जोखिम मोल्नुपर्ने कुरै छैन । तर बचपनदेखि रमाइलो लाग्ने क्षेत्र हो अहिलेको खजुरा गाउँपालिका क्षेत्र । तल्लो बेल्टको सैनिक बस्तीदेखि माथिल्लो क्षेत्र जुन नेपालगन्ज गुलरिया सडक खण्डबाट उत्तरतर्फ पनि फैलिएको छ । ठ्याक्कै मलाई त्यहाँको मानव विकास सूचकांक त थाहा छैन, तर मानिसहरुको चेतनाको स्तर राम्रै छ जस्तो लाग्छ ।
कोरोना महामारीकै बीच २०७७ मा खजुरा क्षेत्रमा सञ्चालनमा रहेका क्वारेन्टाइनको अवस्थाका बारेमा हेर्दै जाँदा त्यहाँको अवस्था निकै दयनिय देखें, जहाँका नागरिकहरु लभभग साक्षार छन् । अधिकांश, जहाँ राजनीतिक विषयको चेतना राम्रो छ भन्ने विश्वास गरिन्छ, त्यहाँको सामाजिक अवस्था पनि पक्कै उच्चकोटीको होला भन्ने लागिरहन्थ्यो मलाई । स्मार्ट कृषिदेखि खेलकुद, राजनीति र शिक्षाको पहुँच मिडियामा चर्चा भए अनुसारको नमुना गाउँपालिका झैं लाग्थ्यो मलाई । र हुनुपर्छ पनि त्यस्तै भन्ने लाग्छ ।
तर जब स्मार्ट कृषिका विषयमा त्यहाँका अगुवा लालबहादुर खत्रीले गाउँपालिकाको कार्यशैलीको आलोचना गरेको सुनें मनमा खिन्नता छायो । वास्तविकता मिडियामा चर्चा भएजस्तो होइन रहेछ, उनी स्वयं स्मार्ट कृषि परियोजनाका एक अगुवा हुन् । लगत्तै त्यस क्षेत्रका कृषि उत्पादन र बजारको ब्यवस्थालाई नजिकबाट अध्ययन गर्न थालें, पाइयो के भने उढरापुर आसपास क्षेत्रबाट भारतीय उत्पादन तरकारीको पैठारी खुल्ला छ, अनि स्थानीय उत्पादनले बजार पाउँदैन ।
खजुरा क्षेत्रमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अहिलेको बाँके जिल्लाको मुख्य आशाको केन्द्र भएकोमा दुईमत छैन । खजुरा क्षेत्र यसकारण पनि चर्चामा हुन्छ कि त्यहाँबाट मिडिया क्षेत्रमा काम गर्नेहरुको संख्या पनि उल्लेख्य छ । जहाँ मिडियाकर्मी रहन्छन्, त्यहाँ ससाना समस्यालाई पनि जोडदाररुपमा उठाइन्छ परिणाम राज्य संयन्त्र ति समस्याको समाधानमा लाग्छ । जुन सकारात्मक काम पनि हो । यति सबैकुरा भएर पनि जिल्लामा चर्चा कमाइरहने खजुरा गाउँपालिका क्षेत्रमा महामारीमा सञ्चालन भएका क्वारेन्टाइनमा खानाको ब्यवस्था हुन सकेको छैन ।
घरघरबाट खाना पुर्याउनुपर्ने अवस्था साँच्चिकै सहज हो त ? के साँच्चिकै जिम्मेवार हुन् त गाउँपालिका प्रमुख ? क्वारेन्टाइनमा बसेकाहरुको प्रश्न र जिज्ञासासम्म सुन्न सक्दैनन् उनी । एउटा मात्रै कुरा भन्छन्, गरिबहरुलाई जसको नपुग्ने छ, उनीहरुलाई घरमै खाद्यान्न पुगाउँछौं । तर कहिँ कसैको घरमा त्यसरी बिशेष महत्वका साथ प्रभावकारीरुपमा खाद्यान्न पुगेको खबर सुनिंदैन । पछिल्लो राहत वितरण बाहेक,जुन देशभरीका स्थानीय तहमा गरियो ।
भारतसँग सिमा पनि जोडिएको छ । वडाध्यक्षहरु खर्च गर्ने बजेट गाउँपालिकाबाट उपलब्ध छैन भन्छन्, यो अवस्थाले समृद्धिको यात्रा कहाँ पुग्ला, तर अहिले नागरिकलाई बचाउने विषम परिस्थिति हो । खजुरामा सञ्चालन हुने लक्षित वर्गको कार्यक्रममा नजर पुग्छ कि पुग्दैन कसैको । मलाई त विचरा वडाध्यक्षहरु भन्न मन लाग्छ । अधिकांश सञ्चारमाध्यम भारतमा मोदीमय भएजस्तै बाँकेका सञ्चारमाध्यम खजुरामा किस्मत आज्माउँदै छन्, अपवाद जहाँ पनि रहन्छ ।
समाचार लेख्नु कुनै विरोध त होइन, अनि स्वच्छ आलोचनालाई सहजरुपमा ग्रहन पनि गर्न सक्नुपर्छ । जिम्मेवार निकाय र सार्वजनिक पद धारण गरेका ब्यक्तिले समाचारलाई ग्रहण पनि गर्न सक्नुपर्छ । आलोचनालाई धैर्यका साथ सुन्न पनि सक्नुपर्छ । समग्रमा खजुरा क्षेत्रको समृद्धि त्यहाँका नागरिकको भोगाइले बताउने कुरा होला तर महामारिमा नागरिकले जुन कुरामा आहत महशुस गरेका छन् (बाहेक केही वडा) यसले कस्तो खालको समृद्धि ल्याउने हो भविष्यले दखाउनेछ ।
तर मिडियामा वाहीवाही पाएजस्तो कतै महशुस हुन सकेन । जहाँ क्वारेन्टाइनमा बसेकाहरुलाई प्रतिदिन प्रतिब्यक्ति रु ५० छुट्याएको छ । गाउँपालिका खाना पनि दिँदैन, नागरिकले कर तिरेका छन् वर्षौदेखि तर, पनि महामारीमा स्थानीय तह निर्दयी बन्छ । अन्त्यमा, खजुरा क्षेत्रका सबैको जय होस । हामी सबैको जय होस् ।
बसन्त शर्मा ।