बाँके । आइतबार राती बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैया नजिकै भएको सवारी दुर्घटनामा दाङका एकै घरका तीन जनाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–३ पातेटाकुरा का ३२ वर्षीय पूर्णबहादुर पुन, उनकी २७ वर्षीया पत्नी सीता र उनीहरुका १० वर्षका एक्ला छोरा हिमान्सुको मृत्यु भयो ।
शान्तिनगर–३ का वडाध्यक्ष बुद्धिराम तिवारीले पुनको वंश नै नाश हुने गरी भएको दुखद घटनाले पुरै गाउँ शोकमा डुबेको बताए । रोजगारीको खोजीको लागि डेढ वर्षअघि उनीहरु सपरिवार चन्डिगढ गएका थिए । कोरोना भाइरसको त्रासदीका कारण उनीहरु आइतबार राती नेपालगन्ज हुँदै दाङस्थित घर फर्किन लागेका थिए ।
तर, उनीहरु फर्किरहेको गाडी पूर्वपश्चिम राजमार्गअन्तरगत ठुरिया जङ्गलमा रोकिराखेको ट्रकसँग ठोक्किन पुग्यो । ना५ख ५९९५ नम्बरको फोर्स गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा चालक सहचालकसहित १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा २० जना घाइते भए ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । छिमेकी देश भारतबाट आएकाहरुलाई नेपालगन्जको सीमा नाका जमुनाहबाट ल्याएर उक्त फोर्स गाडी बाँकेबाट दाङतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका मृतक तथा घाइतेहरु सबै भारतबाट फर्किएका थिए ।
सत्यपाटी ।