काठमाडौं । नेपालमा आज (सोमबार) एकैदिन २२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनीहरु मध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १७९८ पुगेको छ ।
उनीहरु मध्ये १६६७ जना पुरुष र १३१ जना महिला रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेका ७, झापाका २, नवलपरासीका ३, दैलेखका ५१, जुम्लाका १९, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिराहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १ र कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको हो ।
डोटीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो । यसैगरी कञ्चनपुरका संक्रमित ११ महिने शिशु हुन् । नेपालमा कोरोना भाइरसबाट ५९ जिल्ला प्रभावित भएका छन् । आज एक जना मात्रै डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २२१ पुगेको छ । उनीहरु मध्ये १७३ जना पुरुष र ४८ जना महिला रहेका मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ ।
अब होम आइसोलेसनको अवधारणा
कोरोना संक्रमण भएकालाई घरमै राख्न सक्ने गरी होम आइसोलेसनको अवधारणालाई सरकारले जोड दिने भएको छ । कोरोना पोजेटिभ बढ्दै गएपछि होम क्वारेन्टाइन र आइसोलेसनको अवधारणा अघि सार्न लागिएको हो । मन्त्रालयका प्रवक्ता डा.देवकोटाले संक्रमित र बिरामीका रुपमा छुट्याउँदै बिरामीलाई अस्पताल, कोरोनो पाजेटिभ देखिएका तर लक्षण नभएकालाई संक्रमितको रुपमा राखेर उपचार तथा व्यवस्थापन गर्न लागेको बताए ।
‘कोरोना पोजेटिभमात्रै देखिएका अन्य कुनै समस्या नभएकाहरु घरमै आइसोलेसन बस्न सक्ने अवस्था पनि आउनसक्छ, मन्त्रालयले यसरी प्रक्रिया अगाडि बढाउँदैछ,’ डा. देवकोटाले भने । देशभरीबाट आइसोलेसन र क्वारेन्टाइनबारे गुनासो आइरहँदा सरकारले नयाँ ढंगले व्यवस्थापनको तयारी अगाडि बढाउने भएको हो । त्यस्तै, कतिपय संक्रमितलाई लामखुट्टेले टोकेर डेंगु लगायतका अन्य रोग लाग्न थालेपछि त्यसको सावधानी आवश्यक व्यवस्थापनमा पनि निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
सत्यपाटी ।