सूचनाको शक्ति - The Power Of Information

        

मृतक र घाइतेको कोरोना रिपोर्ट नेगेटिभ

बाँके । बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्यु तथा घाइते भएका ३३ जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । दुर्घटनामा परेकाहरु भारतबाट आएकाले कोरोना भाइरसको जोखिम रहेको भन्दै पिसिआर परिक्षण गरिएको थियो ।

‘दुर्घटनामा मृत्यु भएका तथा घाइते भएकाहरुमा कोरोना भाइरस भए÷नभएको पुष्टि गर्न विहान स्वाब संकलन गरेर परिक्षण गरिएको हो,’ जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भने, ‘मृतक तथा घाइते सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’

परिक्षण रिपोर्ट नेगेटिभ आएपछि मृतकलाई आफन्तको जिम्मा लगाइने भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले बताए । ‘मृतकमा कोरोना संक्रमण भए÷नभएको पुष्टि गरेर शवको व्यवस्थापन गर्नुपर्ने भएकाले स्वाब संकलन गरिएको हो । रिपोर्ट नेगेटिभ आएपछि परिवारको जिम्मा लगाइनेछ,’ निमित्त मेसु थापाले भने ।

दृर्घटनामा परेर बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, पुर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको मृत्यु भएको छ भने २१ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

गएराती नेपालगन्जको सीमा नाका जमुनाहबाट सल्यान जाँदै गरेको ना५ख ५९९५ नम्बरको फोर्स गाडी राप्तीसोनारी गाउँपालिका–१ अगैया नजिकै पूर्वपश्चिम राजमार्गको ठुरिया जंगलमा रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार १६:५६