सूचनाको शक्ति - The Power Of Information

        

चीनले अत्याधुनिक हतियार बनाउँदा भारतलाई चिन्ता

काठमाडौं । चीनको जनमुक्ति सेनाले सन् २०१७ मा दोक्लममा भारतसँग भएको गतिरोधपछि उच्च भूभागमा समेत घातक हुने विशिष्ट हतियार बनाएको ग्लोबल टाइम्सले लेखेको छ । भारतसँग हुनसक्ने द्वन्द्वलाई मद्देनजर गर्दै चीनले यस्तो हतियार विकसित गरेको हो ।

‘दोक्लम विवादपछि चिनियाँ सेनाले टाइप १५ ट्यांक, जेड–२० हेलिकप्टर र जीजे–२ ड्रोन जस्ता हतियार बनाएको छ र यसले उच्च भूभागमा युद्ध भएमा चीनलाई फाइदा पुर्याउँछ,’ चिनियाँ पत्रिका ग्लोबल टाइम्सले अज्ञात सैन्यविद्हरूलाई उद्धृत गर्दै लेखेको छ ।

अहिले भारत र चीनबीच सीमामा विवाद चलिरहेको बेलामा चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेको पत्रिकाले नयाँ हतियारको जानकारी दिँदा भारत तनावमा परेको छ । पूर्वी लद्दाखमा चीन र भारतका सैनिकहरू चार ठाउँमा आमनेसामने भएर बसेका छन् । अनि एक महिनाअघि उनीहरू सिक्किमको नाकु लामा पनि भिडसकेका छन् ।

स्थानीय सैन्य कमान्डरहरूबीच भएका अनेकौं चरणका वार्ताले पनि गतिरोध अन्त्य गर्न सकेको छैन । मे ५ र ६ मा पांगोङ त्सो ताल नजिक दुई पक्षबीच भिडन्त हुँदै कैयौं सैनिक घाइते भएका थिए । ग्लोबल टाइम्सले ताजा तनाव दोक्लमको भन्दा पनि खराब रहेको लेखेको छ । तर हतियारहरू युद्धभूमिमा ल्याइसकिएको छ कि ल्याउन बाँकी छ भन्ने कुरा उसले खुलाएको छैन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार १५:३१