सूचनाको शक्ति - The Power Of Information

        

नागरिकको उद्दारमा गाउँपालिकाका अध्यक्षको गज्जबको सक्रियता

जुम्ला । जुम्लाको तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले भारतबाट फर्किने गाउँबासीको उद्दारमा सक्रिय भएर लागिरहेका छन् । उनले भारतसँग जोडिएको नेपालगन्ज नाकादेखि महेन्द्रनगरको गड्डाचौकी नाकामा अलपत्र परेका गाउँबासीलाई उद्धार गरिरहेका छन् । आफ्ना नागरिकलाई लिन उनीले सीमा नाकासम्म बस पठाउने काम गरिरहेका छन् ।

उनका अनुसार तीमध्ये मंगलबार ४५ जनालाई ल्याएर जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा राखिएको छ । दुई दिन अघिमात्र भारतको रुपैडियानाकाबाट एक सय सात जनालाई तिलामा ल्याइ सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको छ । धादिङ र नेपालगन्जबाट आएर १४ जनालाई पनि गाउँपालिकाले क्वारेन्टिनमा लगेर राखिएको छ ।

अहिलेसम्म २६२ जनालाई सीमा नाकाबाट तिला ल्याएर गाउँपाालिकाभित्रका सामुदायिक विद्यालयको क्वारेन्टिनमा राखेको गाउँपालिका अध्यक्ष योगीले बताए । तीमध्ये धेरै भारतको विभिन्न सहरबाट आएका छन् । गाउँपालिकाले कोरोना जोखिम हुन नदिन उच्च प्राथमिकता दिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले एकिकृत क्वारेन्टिन निर्माण गर्ने निर्णय गरे पनि नगरपालिकाले कार्यान्वयन नगर्दा गाउँपालिकाले आफैंले क्वारेन्टिन निर्माण गरिरहेको छ ।

अध्यक्ष योगीका अनुसार वडाध्यक्षको नेतृत्वमा सीमा नाकामा अलपत्र परेका नागरिकहरुको तथ्यांक संकलन गर्न ९ वटै डाध्यक्षलाई परिचालन गरिएको छ । गाउँपालिकाभित्रका कोही स्थानीयवासी नाकामा अलपत्र परे उद्दारका लागि सिधैं बस पठाउने गरिएको छ । क्वारेन्टिनमा बसेकालाई त्यही खाना र आवासको व्यवस्था गरिएको छ । हालसम्म गाउँपालिकाले क्वारेन्टिन व्यवस्थापन र राहत वितरणमा करिब ४५ लाख खर्च गरेको अध्यक्ष योगीले बताए ।

उनी भन्छन् ‘हाम्रा गाउँवासी विदेशमा अलपत्र पर्नुहुँदैन । ल्याएर सुरक्षित भएपछि घर पठाउने काम हाम्रो हो ।’ गाउँपालिकाले तथ्याङ्क सङ्कलन गरेअनुसार १५ सय तिलाबासी भारत लगायत तेस्रो मुलुक र स्वदेशका विभिन्न स्थानमा ५०० जना रहेकाले तीमध्ये २५ देखि ३० प्रतिशत तत्काल आउने गाउँपालिकाले जनाएको छ ।

एक सय जना अट्ने गरी सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गरिरहेको उनले बताए । जुम्ला र कालिकोटको सिमाक्षेत्र बीचमा रहेको तिला गाउँपालिकाका स्थानीयलाई बाहिरबाट आउने नागरिकले कोरोना संक्रमण फैलाउन सक्ने भएकाले गाउँपालिकाभित्रका सिमा नाकामा कडाई गरिने गाउँपालिका अध्यक्ष योगीले बताए । क्वारेन्टिनमा बसेकाहरुको पिसिआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट गर्दै आएको छ ।

गाउँपालिकाभित्रका सुत्केरी महिलादेखि अन्य रोगका विरामीका लागि २४ सैं घण्टा गाउँपालिकाको गाडी तयारी अवस्थामा राखिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गणेश शाहीले बताए । घरखर्च चलाउन भारत गएका नागरिक बन्दाबन्दीका कारण भारतमै अलपत्र परेका तिलावासीलाई उद्धार गरी घरसम्म ल्याएकोमा तिलाका जनप्रतिनिधिले नमुना काम गरेका स्थानीयवासी सरीता बुढाले बताइन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार १५:१९