सूचनाको शक्ति - The Power Of Information

        

सवारी दुर्घटनाका मृतक र घाइतेहरुको कोरोना परीक्षण गरिँदै

बाँके । बाँकेमा गएराती भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाहरुको कोरोना भाइरस भए/नभएको पुष्टि गर्न स्वाब संकलन गरिएको छ । भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाका अनुसार मृतक र घाइते सबैको स्वाब संकलन गरेर कोरोना भाइरसको परीक्षण गर्न लागिएको हो ।

‘कोरोना भाइरसको संक्रमण बढिरहेका बेला मृतकमा कोरोना भाइरस संक्रमण भए/नभएको पुष्टि गरेर शवको व्यवस्थापन गर्नुपर्ने भएकाले स्वाब संकलन गरिएको हो,’ निमित्त मेसु थापाले भने, ‘मृतकमा कोरोना संक्रमण नभए परिवारको जिम्मा लगाइनेछ भने संक्रमण देखिएमा सोही अनुसार शव व्यवस्थापन गरिनेछ ।’

मृतक तथा घाइतेहरु सबे भारतबाट आएकाले उनीहरुमा कोरोना संक्रमणको जाखिम रहेकाले स्वाब संकलन गरी परीक्षण थालिएको उनले बताए । नेपालगन्जको जमुनाहाबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी जंललमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर गएराती दुर्घटना भएको थियो ।

दुर्घटनामा एक महिलासहित १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । मृत्यु भएकाहरुको शव भेरी अस्पताल नेपालगन्जमा राखिएको छ भने घाइतेहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । गाडीमा चालक र दुई सहचालकसमेत गरी ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए । मृतक तथा घाइतेहरुको परिचय खुल्न सकेको छैन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार १०:१०